चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । प्रचण्डले शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट केन्द्रको पहिलो मतदाताका रुपमा मतदान गरेका हुन् । उनी संयुक्त वाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार पनि हुन् । एकाबिहानै मतदान केन्द्र पुगेका प्रचण्डले मतदान गरे लगत्तै यो ऐतिहासिक निर्वाचन भएको बताएका छन् । प्रचण्डले यो निर्वाचनलाई उत्सवका रुपमा मनाउनुपर्ने समेत बताएका छन् । दोस्रो चरणको निर्वाचन अन्र्तगत देशभरका ७ प्रदेशका ४५ जिल्लामा कडा सुरक्षा घेरा भित्र अहिले मतदान सुरु भएको छ । मतदाताहरु निर्धारित समयमा नै मतदान स्थलमा पुगेपछि मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार आज राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए। बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ। मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जनाले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन् भने सबैभन्दा तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागी छन्। समानुपातिकतर्फ ५३ दलको प्रनिनिधित्व छ।

तपाईको प्रतिक्रिया