तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यबती केन्द्रबाट मतदान गरेका छन । पौडेलले मतदान पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्र सस्थागत गर्न शान्ती, स्थिरता र समृद्धिका लागि यो निर्वाचन ऐतिहासक भएको बताए । पौडेलले उक्त निर्वाचन केन्द्रबाट आँफैलाई सबैभन्दा पहिले मतदान गरेका हुन् । यसैबिच दोस्रो चरणको निर्वाचन अन्र्तगत देशभरका ७ प्रदेशका ४५ जिल्लामा कडा सुरक्षा घेरा भित्र अहिले मतदान सुरु भएको छ । मतदाताहरु निर्धारित समयमा नै मतदान स्थलमा पुगेपछि मतदान सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार आज राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए।

बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ। मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जनाले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन् भने सबैभन्दा तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागी छन्। समानुपातिकतर्फ ५३ दलको प्रनिनिधित्व छ।

तपाईको प्रतिक्रिया