भक्तपुर : भक्तपुरमा मतदाताले लाइनमा बसेर मतपत्र लिएको तीन मिनेटभित्र मतदान गर्न सकिने गरी मतदान केन्द्रको संरचना तयार गरिएको छ।

भक्तपुरका मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतहरुले लाइनमा बसेका मतदाताले सबै प्रमाण देखाइसकेर निर्वाचन कर्मचारीबाट मतपत्र लिइसकेपछि तीन मिनेटभित्र प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको दुई र समानुपातिकको एक गरी तीन मतपत्र तीन मिनेटमा मतदान गर्न सकिने गरी मतदान केन्द्रको संरचना तयार गरिएको बताएका हुन्।

उनीहरुले यो समय ज्येष्ठ नागरिकको लागिमात्रै भएको बताए। ‘युवा तथा सक्षम मतदाताहरुले करिब डेढ मिनेटमै तीनवटै मतपत्रमा छाप लगाइसकेर मतदान गरिसक्छन्’, भक्तपुर नपा ५ तालाक्व पाटीस्थित ख मतदान केन्द्रका अधिकृत रविचन्द्र मिश्रले भने।अन्नपूर्णपोष्टमा खबर रहेको छ ।

उनले लाइनमा बसेर पहिलो मतपत्र लिएपछि अन्यत्र कतै अलमल नहुने हुँदा मतदान कार्यमा ढिलाइ नहुने सुनाए। ‘सुरुको मतपत्र लिएपछि मतदाताले सहजै रुपमा बाँकी दुई मतपत्र लिएर मतदान गर्न सकिने मतदान केन्द्रको संरचना तयार गरेका छौं’, उनले भने, ‘भक्तपुरका दुई सय नौवटै मतदान केन्द्रम यही संरचनामा तयार भएका छन्। मतदान सकेपछि मतदातालाई सहजै बाहिरिने व्यवस्थासमेत गरेका छौं।’

तपाईको प्रतिक्रिया