म्याग्दी, २० मंसिर- म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात बिताउँदै आएका एक वृद्धको स्थानीय युवाले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका छन् ।

बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा चिसोमा रात कटाउँदै आएका ६३ वर्षीय टेकबहादुर पुन नाम बताउने वृद्धलाई अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाले उद्धार गरेका हुन् ।

म्याग्दीको मालिका गाउँपालिका क्षेत्रका पुन पहिलेदेखि नै भारी बोक्ने काम गर्दै आएका थिए । उमेरले बुढ्यौली लागेर काम गर्न नसक्ने भएसँगै उनी बेवारिसे अवस्थामा सडकमा बस्दै आएका थिए ।

लामो समयदेखि पुन सडकपेटीमा बस्ने र स्वास्थ्य अवस्थासमेत कमजोर बन्दै गएको पाइएपछि उनलाई उद्धार गरी नुहाइ दिएर उपचारका लागि जिल्ला अस्पताल, बेनीमा भर्ना गरिएको पौडेलले बताउनुभयो ।

पुनका कोही पनि आफन्त नभएको जानकारी आएकाले उनलाई उपचारपश्चात् ज्येष्ठ नागरिक आश्रम अथवा मानव सेवा केन्द्रलगायतका संरक्षण संस्थामा पु¥याउनका लागि आवश्यक पहल थालिने पौडेलले बताउनुभयो । उहाँले बेवारिसे व्यक्तिको संरक्षण गर्ने संस्थाले पुनलाई संरक्षण प्रदान गरी सहयोग गरेमा पुनको दैनिकी सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया