विराटनगर, १९ मंसिर । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सुरु भएको मौन अवधि सुरक्षा अधिकारीका लागि टाउको दुखाइको विषय बनेको छ । विराटनगरमा भएको सुरक्षा अधिकारीको बैठकले मौन अवधिमा झन सुरक्षा चुनौती थपिने निस्कर्ष पनि निकालेको छ । मौन अवधिमा दलहरुले आफ्ना प्रचार प्रसारका कार्यक्रम गर्न पाउँदैनन् । तर यो समयमा भने झन सुरक्षा चुनौती थपिएको निस्कर्ष अधिकारीहरुको छ । उच्च सुरक्षा स्रोतका अनुसार मतदातालाई आर्थिक लगायतका विभिन्न प्रलोभनमा पार्नका लागि उम्मेदवारहरु लाग्ने गरेका कारण सुरक्षा चुनौती थपिएको हो । एउटा पक्ष मतदातालाई प्रलोभनमा पार्न लाग्ने र अर्को पक्ष त्यसलाई रोक्न लाग्ने गरेका कारण समस्या हुने गरेको स्रोतले बतायो । प्रलोभनमा पारेर मतदाता रिझाउन खोज्ने र त्यसलाई रोक्न खोज्नेबीच दोहोरो झडपको स्थिती सिर्जना भएर मानविय क्षति हुन सक्ने भन्दै सबै ठाउँको सुरक्षा अवस्था मजवुत बनाइएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । एउटा दलले मौन अवधिको उल्लंघन गर्दै गतिविधी गरिरहेको भनेर सुरक्षा निकायमा अर्को दलका नेता कार्यकर्ताले गुनासो र उजुरी गर्ने क्रम पनि बढेर गएको मोरङ प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया