नेपालगन्ज । नेपाल–भारतको बाँके खण्डको सीमानाका सील गरिएको छ । २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सोमबार मध्यराती १२ बजेदेखि ७२ घण्टाका लागि सीमा सील गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । यो अवधिमा विरामी बोकेका सवारीसाधन बाहेक अन्य कुनै पनि सवारीसाधन र सामान्य आवातजावत समेत गर्न नपाइने भएको छ । नेपालगन्जको जमूनाह नाकासहित अन्य १० वटा सहायक नाकाहरु पनि सील गरिएको छ ।

निर्वाचनका बेला सीमाबाट हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भारतीय सुरक्षाकर्मीको सहकार्यमा सीमामा संयुक्त गस्ति समेत सुरु गरिएको प्रमुख जिल्ला अधिकारी केसीले वताए । निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको बाँके प्रहरीले जनाएको छ । खुला नाका भएका स्थानमा चौविसै घन्टा सिमा सुरक्षा गस्ति बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपि टेक बहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया