ललितपुर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना प्रतिस्पर्धीका कमीकमजोरी ओकल्दै निर्वाचन जित्ने होडमा छन् । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ काँग्रेसबाट अर्थ राज्यमन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट एमालेका नवराज सिलवाल उम्मेदवार हुनुहुन्छ । राणा २०७० को संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । राणाले आफ्ना प्रतिद्वन्द्वी सिलवाललाई यस क्षेत्रलाई नचिनेको आरोप लगाउने गर्नुुभएको छ । “न त यहाँको भूगोल चिन्नुभएको छ, न यहाँ कहिले आउनुभएको नै थियो,” राणाले भन्नुभयो । गोदाबरी बाहेक अन्यत्रका मतदाताले सिलवाललाई नचिन्ने उहाँको आरोप छ । सिलवाल क्षेत्र नं १ को गोदाबरीको तथा राणा क्षेत्र नं –३ कुपण्डोलको बासिन्दा हुनुहुन्छ । सिलवालले भन्नुभयो,– “म यसै क्षेत्रमा जन्मे हुर्किएको हो, त्यसैले आफ्नो क्षेत्रमा नै उम्मेदवार भएको छु ।” राणाले अघिल्लो निर्वाचनमा दिएको आश्वासन पूरा गर्न नसकेको उहाँको आरोप छ । राणाले संविधानसभा निर्वाचनका बखत गरेका प्रतिबद्धता पूरा नगरेको उहाँको भनाइ छ । उम्मेदवार एक अर्कालाई आरोप लगाउनमै ब्यस्त छन् । आफू सक्षम भएको देखाएर मतदातालाई आकर्षित गर्न लागेका छन् । बागमति, कोञ्जेसोम र महांकाल गाउँपालिका तथा गोदावरी नगरपालिकाको १२ वडा यस क्षेत्रमा पर्छ । स्थानीय तहको निर्वाचनमा तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एक÷एकमा विजयी भएको थियो । गोदावरी नगरपालिकाको प्रमुख र उप–प्रमुखमा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।

यस क्षेत्रमा विसं २०४८, २०५१ र २०५६ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । विसं २०६४ मा नेकपा माओवादी विजयी भएको थियो भने २०७० मा काँग्रेस उम्मेदवार राणा विजयी हुनुभएको थियो । क्षेत्र नं १ मा ५३ मतदानस्थल र ८७ वटा मतदान केन्द्र छन् । कुल मतदाता संख्या ६५ हजार ९१८ रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि १२ वटा राजनीतिक दलका तर्फबाट र नौजना स्वतन्त्र गरेर २१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश (क) मा छवटा राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर आठ जना तथा प्रदेश (ख) मा आठ राजनीतिक दल र चारजना स्वतन्त्र गरेर १२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया