काठमाडौं । प्रहरीले २०६५ चैत ४ गते काठमाडौंको सिफलबाट छोटा राजन समूहसम्बद्ध टिङ्कु’ भनिने गणेश सिंह, ‘विक्की भनिने अनिल बानियाँ र मुकेश दासलार्इ अत्याधुनिक हतियारसहित पक्राउ गर्‍यो। गणेश सिंहले घर सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको बताए पनि उनी भारतीय नागरिक हुन् । उनी छोटा राजन समूहका ‘सार्पसुटर’ हुन् । पक्राउ पर्ने अन्य दुईमध्ये बानियाँ सर्लाहीको अचलागढ–२ र दास सप्तरीको राजविराज–१ का निवासी हुन् । प्रहरीले उनीहरुको साथबाट अत्याधुनिक हातहतियार बरामद गरेको थियो ।

उनीहरूको साथबाट एसएमजी सर्ट मेसिन गन २ थान, साइलेन्सर जोडिएको एके–४७ राइफल १ थान र कम्पनी निर्मित भारतीय पेस्तोल ४ थानका साथै गोली भरिएका म्यागजिन १४ जान बरामद गरेको थियो । एसएमजीले एकै पटक ४ देखि १० राउण्डसम्म गोली हान्ने क्षमता राख्छ भने एके ४७ ले एक मिनेटभित्रै ५० राउण्ड गोली हान्न सक्छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयका तत्कालीन निमित्त प्रमुख डीआइजी भरत जिसीका अनुसार राजधानीमा त्यत्तिका गोली र त्यस्तो अत्याधुनिक हतियारसहित अपराधिक गिरोह पक्राउ परेको त्यो नै पहिलो घटना हो ।

ती हतियारहरू तत्कालीन संविधानसभा भवनमा ठूलै आक्रमण गर्न काठमाडौं भित्र्याइएका थिए । सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डपछि प्रहरीले पनि ती हतियार भित्र्याउनुको तथ्य सार्वजनिक गरेको थियो । सो अपराधिक गिरोहले संविधानसभालाई लक्षित गरी राजनीतिक हत्याकाण्ड मच्चाउने तयारी गरेको थियो । त्यो गिरोहले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक चल्ने कुनै दिन छानेर सभासद् प्रवेश गर्ने पश्चिम गेटमा अन्धाधुन्ध रुपमा गोली चलाएर एक दर्जनभन्दा बढी सभासदका सामूहिक हत्या गर्ने योजना बनाएको थियो ।

जिसिका अनुसार त्यस गिरोहले यो वा त्यो भन्दा पनि संविधान सभा वा व्यवस्थापिका संसदको बैठक चल्ने कुनै दिन छानेर सभासद प्रवेश गर्ने पश्चिम गेटमा अन्धाधुन्ध गोली चलाएर एक दर्जन सभासदको हत्या गर्ने योजना बनाएको थियो।

भैरव सिंह नाम बताउने योजनाकारसहितको उपस्थितिमामा सार्पसुटरहरुलार्इ हतियार बुझाउन लैजाँदै गर्दा स १ प ९७९० नम्बरको रातो पल्सर मोटरसाइकलमा सवार अनिल बानिया विक्की र मुकेश दासलार्इ पक्राउ गरिएको थियो। कम्तिमा पनि पाँच जना सार्पसुटर रहेको अनुमान गरिएपनि टिंकु एक जनालार्इ मात्र प्रहरी पक्राउ गर्न सफल भयो। प्रहरीभित्रैबाट सूचना लिक भएका कारण अरु भाग्न सफल भए।

आखिर किन हत्या योजना बनाइएको थियो भन्ने बारे प्रहरीले नै अनुसन्धानलार्इ फितलो बनाएकाले प्रष्ट बाहिर आउन सकेन। यस घटनामा उच्च राजनैतिक सैनिक एवम् प्रहरीका अधिकारीहरुको समेत संलग्नता खुल्न थालेपछि प्रहरीले दवावमा अनुसन्धानलार्इ छानविन नगर्न आदेश आएको भन्दै रोकेको थियो।

यो घटना त्यतिबेला गराउन खोजिएको थियो, जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालबीच शक्तिसंघर्ष सुरु भइसकेको थियो। प्रधानमन्त्रीले पार्टीभित्रैबाट कटवालालाई बर्खास्त गरिनुपर्ने भन्दै दवाव खेपीरहेका थिए भने कटवाल प्रधानमन्त्री प्रचण्डलाई असफल पार्ने योजनामा थिए ।

अनुसन्धानमा संलग्न उच्च प्रहरी स्रोतका अनुसार तत्कालीन सैनिक नेतृत्व निकट त्यस बेलाका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तत्कालीन एसपी नवराज सिलवालकै सहयोगमा ती हतियार थानकोटस्थित प्रहरी सुरक्षा छिचोल्दै राजनधानी भित्र्याइएको थियो। यी र यस्ता तथ्यहरु एकपछि अर्को खुल्दै जाने क्रममा माथिको आदेश आएको भन्दै अचानक यस प्रकरणको छानवीन अघि नबढाउन दवाव आयो जसका कारण सिंगो मुलुकको राजनीतिक नेतृत्वलार्इ तर्साउने उद्धेश्यले सभासदको समुहलार्इ लक्षित गरी गराउन खोजिएको हत्याकाण्डको विषय त्यत्तिकै ओझेल पर्‍यो।

अहिले उनै नवराज सिलवाललाई नेकपा एमालेले ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि टिकट दिएको छ । सिलवाललाई कम्युनिष्ट पार्टीहरूको उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रले पनि साथ दिएको छ । यस्ता व्यक्तिसँग एमाले र माओवादी केन्द्रका ललितपुरका मतदाताहरूले के अपेक्षा राखेका होलान्?

उनै सिलवालले आर्थिक प्रलोभनमा पारेर एमालेका अध्यक्ष केपी ओलीसँग टिकट लिएपछि ललितपुरमा बबण्ड भएको छ । सिलवालको प्रचारमा एमाले ललितपुरका नेताहरू हिँड्न छाडेका छन् । सिलवालको प्रचारमा अख्तियारले डामेका र भगौडा पुलिसहरूको हुलहुज्जत हुने गरेको एक नेताले बताए ।

बरिष्ठ पत्रकार सरोजराज अधिकारीद्वारा लिखित पुस्तक चक्रव्यूहमा चन्द्रसूर्यबाट साभार

तपाईको प्रतिक्रिया