काठमाडौं । मंसिर २१ हुने दोस्रो चरणको निर्वाचनको मुख्य र अन्तिम दिन आज दलका नेता तथा कार्यकर्ताहरु तिब्र प्रचार प्रसारमा ब्यस्त बनिरहेका छन् । आज मध्यरात १२ बजेपछि मौन अवधी सुरु हुने भएकाले आजको दिन तिब्र रुपमा आफ्ना क्षेत्र तथा शीर्ष दलले अन्तिम शक्ति संचयका रुपमा प्रचार प्रसार गर्ने तयारी गरिरहेका छन् ।

मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । यसैबिच निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।

तपाईको प्रतिक्रिया