काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडीलाई ‘मणि’ बनाउने उद्घोष गरेका छन्। माडीको वसन्तपुरमा आइतबार वाम गठबन्धनले गरेको सभालाई सम्बोधन गर्दै नेताहरूले उक्त उद्घोष गरेका हुन्।

एमाले अध्यक्ष ओलीले सुन्दर माडीलाई समृद्ध तुल्याएर ‘मणि’बनाउन वाम गठबन्धनले पहल चालेको बताए। ‘अहिलेको माडी कस्तो छ र वाम गठबन्धनको सरकार पछि कस्तो हुन्छ हेर्दै जानुस्,’ उनले भने, ‘देशमा नाकाबन्दी हुँदा यही माडी र ठोरीले ठूलो मद्दत गर्‍यो । इन्धन, ग्यासजस्ता अत्यन्त आवश्यक वस्तु भित्र्याउने महत्त्वपूर्ण नाकाको भूमिका निर्वाह गर्‍यो । त्यसैले अध्यक्ष दाहालले माडीलाई ‘मणि’ बनाउँछु भनेर गरेको संकल्पलाई मेरो समर्थन छ।’

ओलीले मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएको बाँदरमुढे घटनालाई लिएर अध्यक्ष दाहालले पटक–पटक माफी मागिसकेकाले अब यसबारे बहस नगर्न आग्रह गरे। ‘जनयुद्धका बेला माओवादीसँग सबैभन्दा बढी मैं रिसाउँथें,’ उनले भने, ‘विगतमा कसले के गर्‍यो भन्नेतिर हैन अब पुराना कुरा बिर्सनुपर्छ। ठूलो त्याग गरेर यो अवस्थामा आइपुगेका हौं।’ वाम गठबन्धन र पार्टी एकता गराउन आफू २० घण्टा खट्ने गरेको उनले बताए। ‘अर्काको किड्नी मागेर हालेको छु। मागेको किड्नीले कति काम गर्नु। त्यही पनि पार्टीका लागि खट्ने गरेको छु,’ उनले भने, ‘तपाईं युवा पनि पार्टीका लागि खट्नुस्।

सभामा दाहालले समृद्ध तुल्याएर माडीलाई ‘मणि’ बनाउने आफ्नो सपना रहेको दोहोर्‍याए। ‘यतिखेर सिंगो देश माडीमा केन्द्रित छ,’ उनले भने, ‘अब माडी मणि बन्छ तपाईंहरू ढुक्क हुनुस्।’ उनले बाँदरमुढे घटनामा पार्टीको गल्ती भएको भन्दै सभामै माफी मागे। दाहालले केही मानिसले बाँदरमुढे घटनालाई भजाएर खाने गरेको आरोप लगाए। केही पीडित ब्यानर बोकेरै सभास्थल नजिक पुगेपछि दाहालले आफूलाई निकै खुसी लागेको बताए।

घटनाका पीडितलाई वाम गठबन्धनको सरकार बनेपछि प्राथमिकतामा राखेको पनि दाहालले स्पष्ट पारे। उनले चीन तथा भारतसँगको व्यापार र रेलमार्गलाई प्राथमिकतामा राखेको बताए। दाहाल शिवनगरबाट गाडीमा माडी पुगेका थिए। उनलाई कडा सुरक्षाबीच माडी पुर्‍याइएको थियो।

उनले सभामा धेरै बोलेनन्। दाहाल जाने बाटोका केही संवेदनशील चोकमा सेनाले गस्ती गरेको थियो। चोक, बजार, पुल र दखोलको किनारमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

पीडितसँग ३ बुँदे सहमति माओवादी केन्द्र अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग आइतबार ३ बुँदे लिखित सहमति गरेका छन्। माडी नगरपालिकाको कार्यकक्षमा घटनाका केही घाइतेसँग उनले सहमति गरेका हुन्। मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था, घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था, घटनास्थलमा मृत्यु भएकाहरूको सम्झनामा स्मारक, नमुना संग्रहालय तथा चिडियाघर निर्माण र माडीलाई पर्यटकीय स्थल बनाउनेलगायतका विषयमा सहमति भएका छन्। घटनामा घाइते बाँदरमुढेकी नरमाया आचार्यले सहमतिपछि आफूहरू खुसी भएको बताइन्।

बाँदरमुढे घटनापीडित संघर्ष समितिका पदाधिकारीले आफूहरूलाई सम्झौताका बारेमा केही थाहा नभएको बताएका छन्। सहमतिका बेला समितिका पदाधिकारीहरू थिएनन्। समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले अध्यक्ष दाहालले केही पीडितलाई प्रलोभनमा पारेर सहमतिको नाममा गरेको सम्झौताले स्तब्ध बनेको बताए। जनमोर्चा र केही एमालेका साथीहरू घटनाका पीडित छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया