काठमाडाैं – सन्दीप क्षेत्री नेपाली हास्यव्यंग्य क्षेत्रमा परिचित नाम हो । सानै उमेरदेखि अरूलाई हँसाउने कला भएका उनी विद्यार्थी जीवनमा आफू निकै बदमास भएको बताउँछन् । वास्तवमा उनको विद्यार्थी जीवन कस्तो रह्यो त ? गज्जबका महेश तिमल्सिनालाई उनले सुनाएका छन् ।

पहिलो अक्षर लेख्न बुवाले सिकाउनुभयो मलाई पहिलो अक्षर लेख्न मेरो बुवाले सिकाउनुभएको हो । त्यसैले मेरो पहिलो शिक्षक मेरो बुवा नै हुनुहुन्छ । उहाँले मेरो हात समाएर चकले स्लेटमा लेख्न लगाउनुहुन्थ्यो । जसले गर्दा मैले क, ख लेख्न उहाँबाट नै सिकेँ ।

माउन्ट भ्युले अनुशासन र क्रिकेट दुवै सिकायो मेरो बुवा प्याथोलोजिस्ड हुनुहुन्छ । त्यसैले गर्दा उहाँको जागिर जहाँ–जहाँ सरुवा हुन्छ हामी त्यहीँ गएर पढ्नुपर्ने बाध्यता थियो । जसले गर्दा म चार वर्षको उमेरमा सुर्खेत गएँ । त्यहाँ उषा बालबाटिका स्कुल थियो । त्यहीँबाट मेरो स्कुलेजीवन सुरु भयो । त्यहाँ म शिशु कक्षामा भर्ना भएँ । त्यसपछि म दाङको माउन्ट भ्यु स्कुलमा फेरि २ कक्षामा गएर भर्ना भएँ । त्यहाँ मैले ५ कक्षासम्म पढेँ । त्योचाहिँ दार्जिलिङका मानिसले खोलेको स्कुल हो । त्यसैले त्यहाँ शिक्षकशिक्षिका सबै दार्जिलिङका नै थिए । जसले गर्दा दार्जिलिङमै बसेर पढेकोजस्तो महसुस हुन्थ्यो । म फुटबल राम्रो खेल्थेँ, क्रिकेटमा चाहिँ खासै रुचि थिएन । तर, त्यो स्कुलमा क्रिकेट खेल्नै पथ्र्यो । जसले गर्दा मैले कक्षा ५ पढ्दादेखि नै क्रिकेट खेल्न सिकेँ । यसको साथै त्यो स्कुलमा विद्यार्थीलाई निकै अनुशासनमा राखिन्थ्यो । जसले गर्दा मलाई अनुशासन पनि सोही स्कुलले सिकायो ।

०५५ सालमा एसएलसी दिएँ त्यहाँ ५ कक्षासम्म अध्ययन गरेपछि म फेरि वीरगन्ज आएँ । त्यहाँको मेरीगोल्ड स्कुलमा आएर ६ कक्षामा भर्ना भएँ । त्यहाँ पनि दार्जिलिङका नै शिक्षक थिए । मैले ६ र ७ त्यहाँ पढेँ । त्यसपछि ०५५ सालमा त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयबाट एसएलसी दिएँ । म प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएको थिएँ ।

वादविवाद र खेदकुदमा सधैँ प्रथम मेरीगोल्ड स्कुलमा रवि कोइराला नामका प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँले विद्यार्थीलाई धेरै पिट्नुहुन्थ्यो । यतिसम्म कि रवि सरले कोही विद्यार्थीलाई अफिसमा बोलाउनुभयो भने अब हाम्रो काल आयो भन्ने सोच्थ्यौँ । उहाँलाई हामीले भुँडे भन्थ्यौँ । म पनि स्कुलको एकदमै छुद्र विद्यार्थी थिएँ । मैले पनि उहाँको पिटाइ धेरै खाएँ । म बदमास भए पनि पढाइमा भने राम्रो थिएँ । विद्यालयमा आयोजना हुने वादविवाद, खेलकुद, नाचगानलगायतका थुपै्र कार्यक्रममा मै प्रथम हुन्थेँ ।

ओभरसियरमा नाम निकालेँ, तर पढिनँ एसएलसी दिएपछि सबैले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसैले मैले पनि पुल्चोक इन्जिनियरमा आएर ओभरसियरमा नाम निकालेँ । नाम निस्केपछि बुवाले फोन गरेर तँ इन्जिनियर नै बन्ने हो त भनेर सोध्नुभयो । तर, मेरो डाक्टर, इन्जिनियर बन्ने सोच थिएन । अरूले भनेको सुनेर नै म त्यतातर्फ लागेको थिएँ । पछि मैले इन्जिनियर पढ्ने सोच बनाइनँ । त्यसपछि म वीरगन्ज फर्किएर वीरगन्ज कमर्स क्याम्पसमा भर्ना भएँ । त्यसपछि मेरो कलेजको यात्रा सुरु भयो । जहाँबाटै मैले स्नातक तहसम्म उत्तीर्ण गरेँ । मैले स्नातकोत्तर भने काठमाडौंको शंकरदेव क्याम्पसबाट गरेको थिएँ ।

परिवारको दबाब थिएन परिवारले मलाई डाक्टर, इन्जिनियर अथवा यस्तो बन्नुपर्छ र यही विषय पढ्नुपर्छ भनेर कहिल्यै दबाब दिएन । मेरो बुवाममी नै बुझ्ने हुनुहुन्थ्यो । उहाँहरूले तँ जुत्ता बनाउने मान्छे बन्, तर नम्बर वान बन् भन्नुहुन्थ्यो । त्यसैले म यहाँसम्म आइपुग्नु मेरो बुवाममीको नै देन हो ।

विद्यार्थीकालमा निकै बदमास थिएँ विद्यार्थी जीवनमा म ज्यादै बदमास थिएँ । म स्नातक तहमा अध्ययन गर्दा कलेजमा नन्दु दाइको क्यान्टिन थियो । त्यहाँ हामी चियाखाजा खान जान्थ्यौँ । मचाहिँ त्यहाँ गएर दूध खान्थेँ । अनि त्यो दूध खाएर गिलासचाहिँ बगैँचामा फालिदिन्थेँ । मलाई धेरैजसोले माया गरेर राजा भन्थे । नन्दु दाइले राजा दूध त खायौ, तर गिलासचाहिँ कता फाल्यौ भन्नुहुन्थ्यो । मचाहिँ मैले फालेको होइन भनेर ढाँट्थेँ ।

एक पिरियडसम्म शिक्षकलाई ट्वाइलेटमा थुनेँ म निकै बदमास थिएँ । मलाई एकजना शिक्षकले सधैँ सो क्युट भनेर मेरो गाला चिमोट्नुहुन्थ्यो । तर, मलाई मन पर्दैनथ्यो । एक दिन मैले त्यो सर ट्वाइलेट गएको देखेँ । अनि ट्वाइलेटमा बाहिरबाट चुकुल लगाइदिएँ । त्यो सर एक पिरियडसम्म थुनिनुभएको थियो ।

राजनीतिमा रुचि थियो, तर कतै संलग्न भइनँ म सानैदेखि प्राइभेट स्कुलमा पढेँ । त्यस्तै कलेज पनि प्राइभेट नै भयो । त्यसैले मैले राजनीतिमा संलग्न हुने मौका नै पाइनँ । मलाई राजनीतिमा चासो थियो र छ पनि । तर, कुनै पनि पार्टीको संगठनमा आबद्ध भइनँ । नयाँ पत्रिकाले छापेको छ ।

कक्षा १० मा एउटी केटीलाई मनपराउँथेँ कक्षा १० मा अध्ययन गर्दा मलाई एउटी केटी मन परेको थियो । मलाई पनि कसैले मनपराउँथे होला । तर, कसैसँग गहिरो माया बसेन ।

तपाईको प्रतिक्रिया