काठमाडौँ – साताअघि माडीकै बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन्, वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् ।लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा वा कुनै ठूला नेता आएका छैनन् ।स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा अहिले पार्टीका नेता/कार्यकर्ता प्रचार र घरदैलोमा केन्द्रित छन् । तर, भन्दा भरतपुर भनिए पनि यो क्षेत्रको खास लडाइँचाहिँ माडी फाँटमा भइरहेको छ ।

स्थानीय तहमा झिनो अन्तरले माओवादीले मेयर जितेको माडी नगरपालिका क्षेत्रमा अहिले दिनका दिन दलका सभा, कोणसभा र भेला भइरहेका छन् । युद्धकालमा यहाँको सर्वसाधारण चढेको गाडी माओवादीले थापेको एम्बुसमा पर्दा ४२ जनाको मृत्यु भएको बाँदरमुडे पनि यही माडी क्षेत्रमा पर्छ ।भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने पश्चिम चितवनको यो क्षेत्र जिल्लामा निकै राजनीतिक चहलपहल हुने क्षेत्र मानिन्छ ।शनिबार भने माडीको केन्द्र मानिने वसन्तपुर बजारमा एक ठूला वामपन्थी नेता सानो कोणसभामा बोलिरहेका थिए । देशैभर वामपन्थी गठबन्धन बनिरहेको भए पनि यी वरिष्ठ वामपन्थी नेता अर्कै नेतालाई भोट माग्दै थिए ।

ती नेता थिए, नेकपा माओवादीका महासचिव मोहन वैद्य । एमाले र माओवादीले वामपन्थीका नाममा जनतालाई झुक्याएको भन्दै उनले आफ्ना पार्टीका उम्मेदवार टंकनाम रेग्मीको पक्षमा भोट मागे ।लामो समयका राजनीतिक साथी दाहालले प्रतिस्पर्धा गरेकै ठाउँमा उनका विरुद्ध प्रचार गरेर वैद्यले आफ्नो राजनीतिक अडान प्रस्तुत गरे । लोकतान्त्रिक र वामपन्थी दुवै गठबन्धनलाई सिन्डिकेट भएको भन्दै यो खालि कुर्सीका लागि बनेको बताए । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया