काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए ।‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।

सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे । ‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ,’ उनले भने ।आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे ।निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए ।मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको हो ।

शृंखलाबद्ध विस्फोट रोक्न आयोगको आग्रह

निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो ।दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले मतदातालाई सुरक्षित रहेको महसुस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

विस्फोटका शृंखला

१५ मंसिर – बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।

१४ मंसिर – गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक

किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।

१३ मंसिर – उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस

उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।

१२ मंसिर – उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।

१२ मंसिर – झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।

१२ मंसिर – दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।

२ मंसिर – रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।

२ मंसिर – तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।

२ मंसिर – भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।

१ मंसिर – नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा रामशरण महतको गाडी क्षतिग्रस्त ।

३० कात्तिक – रोल्पाको घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार । (नयाँ पत्रिका दैनिक)

तपाईको प्रतिक्रिया