काठमाडौँ, १६ मंसिर – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले काँग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताउनुभयो ।

“चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुन्छ,”– उहाँले भन्नुभयो ।

नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रहेको बताउनुभयो । मुलुकको विकासका लागि अरु पार्टीसँग काँग्रेसको तुलना गर्न नमिल्ने उहाँको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा काम नगर्ने अनि अर्काले गर्न लागेको काम बिगार्ने कम्युनिष्टको चरित्र भएको बताउनुभयो । “अरुण तेस्रो जलविद्युत् आयोजना कुन दलका कारण रोकिएको हो,”– उहाँले प्रश्न गर्नुभयो ।

काँग्रेसका पूर्वमहामन्त्री सिंहले काठमाडौँको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ क्षेत्र नं १ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया