हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ २ वर्षको लागि नयाँ जहाज र एयरलाइन्सको अनुमतिमा रोक लगाउने तयारी गरेको छ । नयाँ जहाजका लागि भएको ‘पार्किङ वे’ले नधान्ने भएपछि आन्तरिकतर्फका सबै एयरलाइन्सलाई नयाँ जहाज ल्याउन कम्तीमा दुई वर्षसम्म रोक लगाउने तयारी भएको हो ।देशभरका विमास्थलको जहाज पार्किङ क्षमता ४६ मात्रै रहेको र हाल आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीसँग पनि ४६ वटै जहाज पुगेपछि नयाँ जहाज थप्न रोक्ने तयारी गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र काठमाडौंबाहिर रहेका विमानस्थलको पार्किङ वे विस्तार नभएकोले नयाँ जहाज थप गर्न र नयाँ एयरलाइन्स थप्न रोक लगाउने तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणले ६ महिना अगाडि प्रेमनाथ ठाकुरको संयोजकत्वमा अध्ययन गर्न ३ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिले नेपालभरका विमानस्थले ४६ वटा विमान मात्र पार्किङ गर्नसक्ने क्षमता भएकोले क्षमता विस्तार नभएसम्म नयाँ जहाज थप गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन गत साता प्राधिकरण नेतृत्वलाई बुझाएको छ ।

“प्रतिवेदन हामीलाई बुझाइएको भए पनि हाल छलफल जारी रहेको र निर्णय भने भएको छैन,” प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने । विमान र एयरलाइन्सको चाप बढेकोले समस्या समाधान गर्न धेरै सुझाव र छलफल प्राप्त भइरहेको पोखरेल बताउँछन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेलीप्याड नै अर्को स्थानमा सारेर अहिलेको स्थानमा पार्किङ वे बनाउने प्राधिकरणले तयारी गरेको समेत पोखरेलले जानकारी दिए । विराटननगर, जनकपुर, धनगढी, नेपालगन्ज, लुक्ला, सिमरालगायतका विमानस्थलमा समेत पार्किङ वे विस्तारको तयारी प्राधिकरणले गरेको छ ।

प्रतिवेदन हाल प्राधिकरणका उच्च तहले अध्ययन गरिरहेको छ । “विमान थप्न दिनु भनेको एयरलाइन्स र यात्रुलाई थप सास्ती दिनु हो,” प्राधिकरणका एक उच्च अधिकारीले भने । सवैतर्फको अध्ययन गर्दा हाल नेपालमा ४६ वटा विमान रहेको र सोही आधारमा अब कुनै पनि एयरलाइन्सलाई थप जहाज ल्याउन दिन नसक्ने अवस्थामा पुगेको छ । विमानस्थलमा पार्किङ गर्ने स्थान नहँुदा अहिले पनि १५ मिनेटदेखि १ घन्टासम्म आकासमै जहाज होल्ड गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ हवाई सुरक्षामा चुनौतीसमेत थपिएको समितिको निष्कर्ष छ ।,समाचार कारोबारमा छापिएको छ ।

तपाईको प्रतिक्रिया