जाकार्ता । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले २० जनाको ज्यान जानुका साथै १७ हजार ९ ओटा घरहरु पूर्णतया नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी अन्य चारजना घाइते भएका छन् भने एक हजार ८७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सबै ठाँउहरूमा अझै पनि उद्धारकर्ताहरु पुग्न नसकेको उनले बताए । ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न एक हजार १७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ । उनीहरूलाई खाना, बच्चाको खाना, औषधि र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया