काठमाडौँ – गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले लोकतन्त्रको रक्षा र सम्बृद्धिका लागि नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ३ को उम्मेदवारसमेत बन्नुभएकी मन्त्री बस्नेतले आज यहाँ चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिष्टले मुलुकमा सर्वसत्तावाद लाद्ने योजनाअनुरुप गठबन्धन गरेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाएर लोकतन्त्रको रक्षा गर्दै समृद्धिको अभियानलाई सफल बनाउन मतदातालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले मुलुकको हरेक महत्वपूर्ण परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको भन्दै मुलुकलाई सम्बृद्धितर्फ लैजान काँग्रेसको विजय आवश्यक रहेको बताउनुभयो । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) का उम्मेदवार छिरिङ दोर्जे लामाले काठमाडौँ उपत्यकाको मुहार फेर्नका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ भन्नुभयो । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार विमल ठकुरीले नेपाली प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेस जितेमात्र लोकतन्त्रको भविष्य सुरक्षित हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया