काठमाडौं -सरकारले नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरेर प्रहरी प्रशासन अस्तव्यस्त बनाउन खोजेको भन्दै एमालेले आपत्ति जनाएको छ । निर्वाचन परिचालन कमिटीको बिहीबार बसेको बैठकले प्रहरी प्रशासनलाई अनावश्यक रूपमा भत्काउन खोजेको आरोप लगाउँदै त्यस्तो काम तत्काल रोक्न माग पनि गरेको छ ।‘नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रूपमा भत्काउन खोजिँदै छ । सरकारको यस्ता कामप्रति एमाले कडा शब्दमा विरोध गर्छ,’ बैठकपछि प्रवक्ता विष्णु रिमालले विज्ञप्तिमार्फत भनेका छन्, ‘आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुङ पार्ने कार्य तत्काल रोक्न माग गर्छ ।’ गृह मन्त्रालयले १६ करोड बाँडेको आरोप

एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारले राज्यकोषको दुरुपयोग गर्दै १६ करोड रुपैयाँ बाँडेको आरोप लगाएको छ । निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले कांगे्रस कार्यकर्ताहरूलाई प्रधानमन्त्री स्वयंको निर्देशनमा गृहमन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट १६ करोडभन्दा बढी रकम बाँडिएको एमालेको आरोप छ । आचारसंहिताविपरीत काममाथि तत्काल हस्तक्षेप गर्दै रोक लगाउन एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।

बैठकले हिंसात्मक आक्रमण र विस्फोटका घटना नियन्त्रण गर्नुको साटो सरकार निरीह हुँदै गइरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने दायित्व निर्वाह गर्न ध्यानाकर्षणसमेत गराएको छ ।‘प्रत्यक्षमा एक सय ३७ सिट जित्छौँ’ एमाले महासचिव ईश्वर पोखरेलले वाम गठबन्धनले प्रतिनिधिसभामा १ सय ३७ सिट जित्ने दाबी गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर काठमाडौं मिडिया डेक्सले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा उनले काठमाडौंका सबै क्षेत्र वाम गठबन्धनले जित्ने दाबीसमेत गरे । ‘प्रत्यक्षमा १ सय ३७ सिट जितेर वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउनेछ,’ पोखरेलले भने, ‘पहिलो चरणको निर्वाचनमा गठबन्धनको पक्षमा लहर देखेर कांग्रेस अत्तालिएको छ ।’ पहिलो चरणमा ३७ क्षेत्रमध्ये ३२ र दोस्रो चरणका १ सय २८ मध्ये १ सय ५ क्षेत्रमा गठबन्धन विजयी हुने उनको दाबी छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन ऐतिहासिक भएको भन्दै पोखरेलले राजनीतिक स्थिरताका लागि सबै मतदातालाई सजग भएर मतदान गर्न आग्रह पनि गरे ।

काठमाडौं–५ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका पोखरेलले निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले पाँच वर्षमा विकास निर्माण, सुशासन, लोककल्याणकारी राज्यको निर्माण गरेर देशलाई आमूल परिवर्तन गर्ने दाबी पनि गरे । हतास मनस्थितिका कारण वाम गठबन्धनको दुष्प्रचार गरिएको भन्दै पोखरेलले भ्रममा नपर्न आग्रह गरे । ‘हाम्रो गठबन्धन कसैविरुद्व होइन, गलत प्रचार गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया