काठमाण्डौ , मङ्सिर १४। काठमाडौँ जिल्लाको प्रतिनिधिसभा सदस्यतर्फ १० सिटमा ठूला दल नेपाली काँग्रेस र वाम गठबन्धनबाट एक जना मात्रै महिला चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिनेमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ ३ मा अम्बिका बस्नेत हुनुहुन्छ ।

दुईपक्षीय प्रतिस्पर्धाका रूपमा हेरिएको यस क्षेत्रमा उहाँसँग नेकपा (एमाले)का काठमाडौँ जिल्ला अध्यक्ष कृष्णबहादुर राईसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहनुभएकी बस्नेतले आफ्नो मुख्य प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनका राईलाई लिनुभएको छ ।

उहाँकी अर्की प्रतिस्पर्धी विवेकशील साझा पार्टीकी सुमित्रासिंह लामा हुनुहुन्छ । बस्नेतले काठमाडौँ ३ मा जतिसुकै गठनबन्धन भए पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । यस्तै यस क्षेत्रमा प्रदेशसभा सदस्यतर्फ १७ जना प्रतिस्पर्धामा रहेकोमा ठूला दलबाट महिलाले टिकट पाएनन् ।

काठमाडौँ क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यतर्फ विवेकशील साझा पार्टीबाट सुबुना बस्नेत चुनावी मैदानमा हुन्ुहुन्छ । बस्नेतसँगको प्रतिस्पर्धामा काँग्रेसका चर्चित युवा नेता गगनकुमार थापा र वाम गठबन्धनबाट एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रको प्रदेशतर्फ १८ जना उम्मेदवार भएकोमा प्रतिस्पर्धी भनिएका दलबाट महिलाले टिकट पाएका छैनन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रदेशसभा सदस्यतर्फ खमा ‘हेभिवेट’ व्यक्तित्व नेत्री नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । एमालेको उपाध्यक्ष जस्तो नेतृत्व तहमा पुग्नुभएकी शाक्य प्रदेशसभाको चुनावमा लडेकाले सबैको चासो बढाएको छ । उहाँको प्रतिस्पर्धामा काँग्रेसका देवरत्न डङ्गोलसहितका १० जना उम्मेदवार हुनुहुन्छ तर शाक्यले आफ्नो मुख्य प्रतिस्पर्धीका रूपमा डङ्गोललाई लिनुभएको छ । एमाले नेत्री शाक्यलाई प्रदेश ३ को भावी मुख्यमन्त्रीको जिम्मेवारी दिने उद्देश्यसहित त्यस प्रदेशमा पठाएको हो । सोही क्षेत्रको प्रदेशसभा कतर्फ नेपाली काँग्रेसका राज्यलक्ष्मी श्रेष्ठ प्रतिस्पर्धा हुनुहुन्छ । वाम गठबन्धनको नेतृत्व गर्नुभएकी शाक्यले यसअघि धेरैपटक केन्द्रको वा संविधानसभा सदस्य भएर काम गरेको धेरै अनुभव भएकाले नयाँ अनुभव लिनका लागि आफ्नै इच्छाले प्रदेशसभाको सदस्यतर्फ आएको र जित पनि सुनिश्चित जस्तै भएको दाबी गर्नुभएको छ ।

काठमाडौँ १ मा त्रिपक्षीय प्रतिस्पर्धा भनिएको काठमाडौँ १ को प्रतिनिधिसभा सदस्यमा ती दलबाट महिला छैनन् भने प्रदेशसभा सदस्य कतर्फ भने वाम गठबन्धनबाट एमालेको प्रतिनिधित्व गर्दै विष्णुकुमारी भुसाल र विवेकशील पार्टीका समीक्षा बास्कोटा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरूको प्रतिस्पर्धा नेपाली काँग्रेसका दीपेन्द्र श्रेष्ठसहित अन्य पार्टीका ११ जनासँग हुँदैछ ।

काठमाडौँ ५ मा प्रदेशसभा सदस्यतर्फ कमा नेपाली काँग्रेसका रमा पौडेल गुरागाई प्रतिस्पधामा उत्रिनुभएको छ । उहाँसँग वाम गठबन्धनबाट एमालेका नारायणबहादुर सिलवालसहित १४ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

काठमाडौँ क्षेत्र ६ मा सो क्षेत्रमा प्रदेशतर्फ ‘क’मा विवेकशील साझाका विमलादेवी अधिकारी घिमिरे प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ काँग्रेसका न्हुछेनारायण मानन्धर, एमालेका केशव स्थापितसहित नौ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँको मुख्य प्रतिस्पर्धा भनेको काठमाडौँका पूर्वमेयरसमेत स्थापित र मानन्धरसँग हुने बताउनुभएको छ ।

काठमाडौँ ७ मा प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसको समर्थनमा राप्रपाका नेता विक्रमबहादुर थापा र वाम गठबन्धनबाट एमालेका रामवीर मानन्धरसहित १३ जनासँग विवेकशील साझाबाट अनुपा श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा सदस्यतर्फ २१ जना प्रतिस्पर्धामा रहेकोमा ठूला दलबाट महिला छैनन् । काठमाडौँ क्षेत्र ९ मा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका ध्यानगोविन्द रञ्जित, एमालेका कृष्णगोपाल श्रेष्ठसहित १४ जना प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा सदस्यतर्फ पनि क र खमा गरेर २६ जना प्रतिस्पर्धामा छन् तर यो क्षेत्रमा दलहरूले महिलालाई विश्वास गरेको देखिँदैन ।

काठमाडौँ क्षेत्र नम्बर १० मा प्रदेशसभा सदस्यतर्फ क र खमा गरेर २० जना प्रतिस्पर्धामा रहेकोमा वाम गठबन्धनबाट एमालेकी रमा आले मगर र विवेकशील साझाका एलिसा महर्जनसहित १० जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । आले मगरले आफ्नो मुख्य प्रतिस्पर्धीका रूपमा काँग्रेस भए पनि जित आफ्नै हुने दाबी गर्नुभयो ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार काठमाडौँ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १७१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने प्रदेशसभा सदस्यतर्फका २० सिटका लागि २२२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा विभिन्न दल र स्वतन्त्र गरी २५ जना महिला प्रतिस्पर्धामा भएको खबर आजको गोरखापत्रमा छापिएको छ ।

तपाईको प्रतिक्रिया