काठमाडौँ : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ । चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर २१ गते हुने निर्वाचनमा काँग्रेसलाई मत दिन आममतदातासँग अपिल गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “नेपाली काँग्रेसले सात सालमा निरंकुश राणा शासन हटाएर मुलुकमा लोकतन्त्र स्थापना गरेको हो । पञ्चायतलाई हटाएर काँग्रेस आफैँले मुलुकको नेतृत्व गरेको हो र नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकमा समावेशी संविधान आएको हो । काँग्रेसले जितेको खण्डमा मात्र जनता मालिक हुनेछन् ।” काँग्रेसको शासन आएमा मात्रै समृद्धिका लागि स्वदेश र विदेशी लगानी बढाउन सकिने उहाँको भनाइ थियो । पार्टी महामन्त्री डा शशांक कोइरालाले काँग्रेससँग विकासको प्रस्ट ‘भिजन’ भएको र नेतृत्व गर्न दिइए १० वर्षभित्र मुलुकको मुहार फेर्ने बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार बन्नुभएका डा प्रकाशशरण महतले क्षेत्र नं ५ को समृद्धि, विकास र रोजगारी सिर्जनाका लागि रूख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अनुरोध गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपति शम्शेर राणाले स्थिर लोकतान्त्रिक सरकार बनाउन लोकतान्त्रिक गठबन्धन मुलुकलाई आवश्यक रहेको बताउनुभयो । लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ९क० मा रमा गुरागार्इं र ९ख० मा रमेश खड्का उम्मेदवार हुनुहुन्छ । सोही अवसरमा नेका प्रचारप्रसार मूल समितिका संयोजक बालकृष्ण खाँणले जनताले विकासमुखी सही उम्मेदवार छनोट गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया