कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारहरुका लागि २२ हजार मतदाता रहेको महाकाली नगरपालिका (दोधारा चाँदनी) चुनावी प्रचारको प्रमुख गन्तव्य बन्न थालेको छ । भीमदत्तनगरपालिकाका १९ वटा र बेदकोट नगरपालिकाको वडा नं ८ का साथै महाकाली नगरपालिका समेटिएको निर्वाचन क्षेत्र नं ३ मा विगतका निर्वाचनमा दोधारा चाँदनी निर्णायक देखिएकाले पनि आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि महत्वपूर्ण मानिएको हो । हालसम्मका विभिन्न निर्वाचनमा नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको दोधारा चाँदनीमा यसपटक वाम गठबन्धनका उम्मेदवार काँग्रेसको पकड भत्काउन सक्रिय छन् भने काँग्रेस लोकतान्त्रिक गठबन्धनको सहयोगमा विरासत जोगाउन सक्रिय छ । विगत दुई दिनदेखि काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखक चुनावी प्रचारका क्रममा महाकाली पारि नै बस्दैआउनुभएको छ ।

स्थानीय नेताहरूको साथमा चुनावी प्रचारमा जुट्नुभएका नेता लेखकले धेरै पटक दोधारा चादँनीका मतदातासामु आफूलाई जिताउन अनुरोध गरिसक्नुभएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ को प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका मानबहादुर सुनारलाई गठबन्धनको ठूलो भरोसाका रुपमा हेरिएको छ । गठबन्धनका नेताहरू दोधारा चाँदनीबाट उम्मेदवार दिएकाले पनि त्यहाँको भोट आउनेमा आशावादी छन् भने काँग्रेसले पनि प्रदेशसभामा बेलबहादुर रानालाई उठाएकाले दोहोरो भिडन्त दोधारा चाँदनीवासीबीच हुने देखिएको छ । दुवै नेताहरूले दोधारा चादँनीको विकासमा पछि नहट्ने बताइरहेका छन् । दोधारामा पुल, सडकलगायत पूर्वाधार विकासका काम आफूले विगतदेखि गर्दै आइरहेकाले चुनावमा दोधारा चाँदनी आफ्नै पकडमा रहने नेता लेखकको विश्वास छ ।

“फेरि पनि यहाँको विकासका लागि कटिबद्ध भएर लागेको छु,” बुधबार दोधारा चाँदनीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता लेखकले भन्नुभयो – “दोधारा चाँदनीमा सुख्खा बन्दरगाहदेखि सिँचाइसम्मको व्यवस्था गर्न मैले पहल थालेको छु ।” प्रदेशसभाका उम्मेदवार बेलबहादुर राना, महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारसहितका नेताहरूलाई साथमा लिएर चुनावीसभामा व्यस्त रहनुभएका नेता लेखक हालसम्मको चुनावी प्रचारप्रसारमा अगाडि रहेको देखिएको स्थानीयवासीको भनाइ छ । त्यसैगरी, दोधारा चाँदनीमै चुनावी घरदैलोलाई तीव्रता दिइरहनुभएका वाम गठबन्धनका उम्मेदवार डा दीपकप्रकाश भट्ट काँग्रेसले विकासका नाउँमा कुनै काम नगरेको आरोपसहित प्रचारमा उत्रिनुभएको छ । बुधबार दोधारा चाँदनीमै चुनावी सभा गरिरहनुभएका उम्मेदवार भट्टले आफूले निर्वाचन जिते महाकाली नगरपालिकामा सिँचाइको व्यवस्थाका साथै सुख्खाबन्दरगाह निर्माण गरेर रोजगारीको वातावरण बनाइदिने बताउनुभयो । “महाकाली सन्धिमा उल्लेख भएको सिँचाइको नहर अहिलेसम्म बनेन,” उहाँले भन्नुभयो – “यहाँ विकासका नाममा गफ मात्रै बढी भए । काम भएन ।”

महाकाली नदीमा निर्माण भएको झोलुङ्गे पुल र निर्माण थालिएको चार लेनको पुलकै कारण काँग्रेस नेताहरूको पक्षमा दोधारा चाँदनीवासी साथ रहेको काँग्रेसका स्थानीय नेताहरूको भनाइ छ । स्थानीय निर्वाचनको मितका आधारमा वाम गठबन्धन अगाडि गणितीय हिसाबमा यस निर्वाचन क्षेत्रमा वाम गठबन्धन अगाडि छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा झण्डै आठ हजारभन्दा बढी मतले अगाडि देखिएको छ । लामो समयदेखि कञ्चनपुरका मतदातासामु परिचित नेता लेखकले संविधान निर्माणदेखि राष्ट्रिय राजनीतिमा देखिएको भूमिकाका कारण पनि निर्वाचन जित्ने कतिपयको आकलन छ । भौगोलिक विकटता र अभावमा पिल्सिएका, सरकारी सुविधाबाट वञ्चित रहँदैआएका र भारतीय सीमावर्ती बजारमा श्रम गरी बाँचेका दोधारा चाँदनीवासी अहिले दलहरुको नजरमा समेत पर्न थालेपछि यहाँका बासिन्दा खुशी देखिएका छन् ।

चुनावी सभाका क्रममा नेताहरू दोधारा चाँदनीमा केन्द्रित भएको देख्दा स्थानीयवासीमा खुशी छाएको हो । उनीहरू आसन्न निर्वाचनपछि दोधारा चाँदनीको मुहार फेरिनेमा आशावादी छन् । गत वर्षमात्रै महाकाली नगरपालिका बनेको दोधारा चाँदनी जान पनि भारतीय मोटरबाटोको प्रयोग गर्नुका साथै स्वदेशी भूमि प्रयोग गर्दा ट्युबमा ज्यान जोखिममा राखेर तिर्नुपर्ने बाध्यता थियो । दशकअघि महाकाली नदीमा निर्माण भएको झोलुङ्गे पुलले दोधारा चाँदनीवासीलाई भीमदत्तनगरलगायत मुलुकलाई जोड्न राहत मिल्यो । भारतीय भूमिबाट नेपाल आवातजावत गर्दा भारतीय पक्षको थिचोमिचो सहेर बसेका दोधारा चाँदनीवासीलाई पछिल्ला वर्षहरूमा एकपछि अर्को सुविधा थपिने क्रम निरन्तर छ । महाकाली नदीमा चार लेनको पुलको शिलान्यास, निर्माणाधीन सुख्खा बन्दरगाह दोधारा चाँदनीका लागि नयाँ उपहार हुुन् । सुदूरपश्चिमकै विकास एवं आर्थिक समुन्तिमा विशेष अर्थ राख्ने यी दुई योजना दुवै उम्मेदवारका प्रमुख चुनावी एजेण्डा बनिरहेका छन् ।

काँग्रेसबाट निर्वाचन क्षेत्र नं ३ को प्रदेश ‘ख’ मा उम्मेदवार रहनुभएका बेलबहादुर रानाले प्रजातन्त्र आइसकेपछि दोधारा चाँदनीलाई पहिलो पटक आफूलाई उम्मेदवार बनाएर काँग्रेसले न्याय दिएको बताउनुभयो । “प्रदेशसभामा यहाँबाट पहिलो उम्मेदवार बन्ने व्यक्ति मै हूँ,” उम्मेदवार रानाले भन्नुभयो, “दशकौँदेखि दोधारा चाँदनीमा राजनीति गरेकाले मत माग्न घरदैलोमा गइराख्नुपर्ने अवस्था नै छैन ।” दोधारा चाँदनीको विकासका एजेण्डामा सघाउ पु¥याउन आफू लामो समयदेखि समय खर्चेर लागेको बताउँदै रानाले आसन्न निर्वाचनमा प्रदेशसभामा विजयी हुने दाबी गर्नुभयो । “मतदाताहरू दोधारा चाँदनी भन्दा पनि प्रदेशसभामा परेका भीमदत्त नगरपालिकाका वडाहरूमा घरदैलो गर्ने सुझाव दिइरहेका छन्,” उहाँले भन्नुभयो – “विगतको संविधानसभामा पार्टीले पाएको मत हेर्दा पनि विजय यात्रालाई कसैले रोक्न सक्दैन ।” त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश ‘ख’ का उम्मेदवार मानबहादुर सुनारले सडक, सिँचाइलगायतका पूर्वाधार विकासका लागि मतदाताहरूबाट माग आइरहेको बताउनुभयो । विगतमा पनि यस क्षेत्रमा काम गरेको धेरै अनुभव आफूसँग रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया