दाङ, १३ मंसिर – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताउनुभएको छ ।प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गर्नुभयो । “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उहाँले भन्नुभयो ।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उहाँले चिन्ता व्यक्त गर्नुभयो । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भन्नुभयो, “हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।” सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया