कालीकोट : खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा मुगु भिई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो । उक्त जीपमा मुगुबाट सुत्केरीसहित नौ यात्रु रहेको बताइएको छ । पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ । जीप दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया