एजेन्सी – मोडलिङ, फेसन सो तथा टेलिसिरियलबाट करिअर सुरु गरे तापनि अन्ततः हिरोइन बनेर बलिउडमा नाम चम्काएका युवती थुप्रै छन् । पूर्वविश्वसुन्दरी ऐश्वर्या राय, प्रियंका चोपडा, लारा दत्तालगायत थुप्रै सुन्दरी बलिउडमा क्रियाशील छन् । तीमध्ये कोही हिरोइनमा सफल छन् त कोही असफल साबित भइसकेका छन् । भारतीय अनलाइनले मोडल हुँदै हिरोइन बनेका केही चर्चित सेलेब्रिटीको करिअरबारे रिपोर्ट तयार पारेको छ : दीपिका पादुकोण दीपिकाले मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । मोडलिङमा उनको राम्रै नाम थियो । सन् २००७ को शाहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट उनी हिरोइनका रूपमा डेब्यु भइन् । हिरोइनको करिअर पनि चम्किलो भयो, उनको । ओम शान्ति ओमपछि दीपिकाले ‘लब आजकल’, ‘आरक्षण’, ‘ककटेल’, ‘तमासा’, ‘बाजीराव मस्तानी’लगायतका थुप्रै फिल्म दिइन् । उनी बलिउडकी टप हिरोइनमा पर्छिन् ।

इशा गुप्ता ३२ वर्षीया इशाले फेमिना मिस इन्डियामा भाग लिएर मिस फोटोजेनिकको टाइटल जितेकी थिइन् । किंगफिसर क्यालेन्डर गर्ल भइसकेकी इशाले ‘जन्नत–२’बाट बलिउडमा पाइला राखिन् । त्यसपछि उनी ‘राज थ्री डी’, ‘चक्रव्यूह’, ‘हमसकल’, ‘रुस्तम’, ‘बादशाहो’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । इशाको फिल्म करिअरले उचाइ भने लिन सकेको छैन ।

सुस्मिता सेन फिल्म अभिनयमा आउनुअघि सुस्मिताले थुप्रै प्रोडक्टको विज्ञापन गरेकी थिइन् । सन् १९९४की मिस युनिभर्स विजेता सुस्मिताले मोडलिङमा जस्तो फिल्म अभिनयमा भने सफलता पाउन सकिनन् । उनले सन् १९९६ मा ‘दस्तक’ फिल्मबाट डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘जोर’, ‘आँखे’, ‘वास्तुशास्त्र’, ‘बेवफा’, ‘मै हुँ ना’, ‘फिलहाल’लगायतका थुप्रै फिल्ममा अभिनय गरिन् । ४२ वर्षीया सुस्मिता पछिल्लो समय फिल्ममा देखिएकी छैनन् ।

अनुष्का शर्मा अनुष्काले पनि आफ्नो करिअर मोडलिङबाट सुरु गरेकी हुन् । उनले थुप्रै फेसन सो तथा र्‍याम्प वाक गरेकी थिइन् । मोडलिङमा सफलता प्राप्त गरिरहेका वेला उनी सन् २००८मा ‘रब ने बनादी जोडी’बाट हिरोइन बनिन् । त्यसपछि उनका ‘ब्यान्ड बाजा बारात’, ‘जब तक है जान’, ‘पिके’, ‘सुल्तान’, ‘ए दिल है मुस्किल’लगायत थुप्रै हिट फिल्म दिएकी छिन् । अनुष्का बलिउडकी टप हिरोइनमा पर्छिन् ।

कैट्रिना कैफ कैट्रिनाले पनि मोडलिङबाट करिअर सुरु गरेकी हुन् । फिल्ममा आउनुअघि उनले थुप्रै ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी थिइन् । सन् २००३ को ‘बुम’ फिल्मबाट बलिउड प्रवेश गरेकी उनले आफूलाई हिरोइनका रूपमा स्थापित गराउन सफल भइन् । उनका ‘मैने प्यार क्यु किया’, ‘हमको दिवाना कर गए’, ‘वेलकम’, ‘रेस’, ‘राजनीति’, ‘एक था टाइगर’लगायतका फिल्म हिट छन् । अब उनको ‘ठग्स अफ हिन्दुस्तानो’ दर्शकमाझ आउनेछ ।

दिया मिर्जा सन् २०००की मिस इन्डिया प्यासिफिक विजेता दिया मिर्जाले त्यसपछि थुप्रै ब्रान्डको मोडलिङ गरिन् । मोडलका रूपमा समेत आफ्नो स्थान बनाएकी दिया सन् २००१मा ‘रहना है तेरो दिलमे’ फिल्मबाट हिरोइन बनिन् । तर, मोडलिङमा उनी जति सफल थिइन्, फिल्ममा त्यो साख जोगाउन सकिनन् । उनले ‘तेहजिव’, ‘दम’, ‘क्याेँ हो गया ना’, ‘दश’लगायतका फिल्ममा अभिनय गरिन् । पछिल्लो समय उनी अभिनयमा सक्रिय छैनन् । नयाँ पत्रिकाले छापेको छ ।

नेहा धुपिया नेहा धुपियाले पनि मोडलिङबाट करिअर सुरु गरेकी हुन् । तर, मोडलिङमा पनि उनले औसतभन्दा बढी सफलता पाइनन् । सन् २००३ मा ‘कयामत’ फिल्मबाट अभिनय थालेकी उनको फिल्मी करिअर पनि त्यति सफल भएन । उनले ‘जुली’, ‘सिसा’, ‘चुप चुप के’, ‘दश कहानिया’, ‘दे दना दन’लगायतका फिल्ममा अभिनय गरिन् ।

तपाईको प्रतिक्रिया