राजविराज : सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान हुनुहुन्छ । यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले बाजी मार्ला भन्ने सबैको नजर सप्तरी क्षेत्र नं २ प्रति ध्यान गएको देखिएको छ ।

यता काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले भने मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन् । करिब ७९ हजार २६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीविको भनाइ रहेको छ ।

तर दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्ररुपमा उम्मेदवारी दिएका ठाकुर पनि पछाडि परेका छैनन् । राजपाले टिकट नदिएपछि उहाँ पनि स्वतन्त्ररुपमा भए पनि उम्मेदवार भएर कडा चुनौतीका साथ चुनावी तालमेलमा उत्रनुभएको छ । चुनावी मैदानमा रहेका फोरम अध्यक्ष यादव यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव लड्नुभएको थियो । अध्यक्ष यादवले पहिलो संविधानसभामा मोरङ र सुनसरीको दुवै क्षेत्रबाट विजय प्राप्त गर्नुभएको थियो । तर २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी प्राप्त गर्न सफल हुनुभएको थियो । त्यस्तै उहाँलाई कडा टक्कर दिन चुनावी मैदानमा रहनुभएका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसिँचाइ मन्त्री उमेशप्रसाद यादवले पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नं ३ बाट फोरमका उम्मेदवार शलेन्द्रप्रसाद साहलाई पराजित गरी निर्वाचित हुनुभएको थियो । यता राजपाका पूर्व सहमहामन्त्री जयप्रकाश ठाकुर मधेश गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँ पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तमलोपा पार्टीबाट चुनाव लड्नुभएको थियो ।

काँग्रेसको केन्द्रीय परिपत्रअनुसार सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएकाले फोरम अध्यक्ष बलियो देखिए पनि वाम गठबन्धनका उमेश यादवलाई एमाले र माओवादी केन्द्रको साथ छ । सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा पनि गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् । २ को (क)मा राजपा–फोरम गठबन्धनबाट शलेन्द्रप्रसाद साह र नेपाली काँग्रेसबाट रञ्जित कर्ण हुनुहुन्छ । त्यस्तै २ को (ख)मा वाम गठबन्धनको तर्फबाट महेश यादव र राजपा–फोरम गठबन्धनबाट राजपाका महासचिव मनिषकुमार सुमन चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै राजपाले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै लक्ष्मण यादवले पनि महासचिव सुमनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएर कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा हुनुहुन्छ । सप्तरी क्षेत्र नं २ मा छिन्नमस्ता, तिलाठी कोइलाडी, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्छन् ।

तपाईको प्रतिक्रिया