काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको माडी क्षेत्रलाई मणि बनाउने बताएका छन् ।आफ्नो निर्वाचन क्षेत्र माडीको ढुकुरबारीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले माडीमा विकासका प्रशस्तै सम्भावना रहेको बताए ।

‘कृषिमा आधुनिकीकरण, राष्ट्रिय निकुञ्ज र प्राकृतिक स्रोतसाधनको सही उपयोग गरेर चितवनलाई तीव्र विकासको गतिमा अघि बढाउन सकिन्छ,’ प्रचण्डले भने, ‘चितवनको समग्र विकास गरेर माडीलाई चितवनकै मणि बनाउने योजना हामी बनाउनेछौँ ।’

अध्यक्ष प्रचण्डले माडीको विकासका लागि आफूले ठूला योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले माडीमा विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि राज्यको आँखा नपरेका कारण माडी अहिलेसम्म पछि परेको बताए ।

माडीको विकासका लागि रिउ नदी र अन्य ठाडा खोलाहरूलाई नियन्त्रण गर्नुपर्नेमा प्रचण्डले जोड दिए ।उनले नदी नियन्त्रण गर्न व्यवस्थित तटबन्धन, जंगली हात्तीको आतंक रोक्न फाउन्डेसनसहितको बलियो बार, र माडीका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ओली र प्रचण्डले सम्बोधन गर्ने मंसिर १७ गते माडीमा वाम गठबन्धनले गर्ने आमसभामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

मंसिर ५ गते भरतपुरमा भएको सभामा पुत्रशोकमा परेका प्रचण्ड नबोल्दा ओलीले नै प्रचण्डका लागि मत मागिदिएका थिए । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया