काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन यति वेला राष्ट्रिय कलाकारहरू काठमाडौंबाट चितवन झरेका छन् ।लोकगायक बद्री पंगेनी, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, संगीतकार चेतन सापकोटालगायतका कलाकार निर्वाचनमा प्रचण्डको पक्षमा माहोल बनाउन खटिएका हुन् ।लोकगायक बद्री पंगेनीले आइतबार र सोमबार माडीका विभिन्न सभामा प्रचण्डकै अगाडि गीत गाउँदै प्रचण्डलाई भोट मागेका छन् ।

पंगेनीले ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ,’ बोलको गीत गाउँदा सहभागीहरू ताली बजाउँदै छमछमी नाचेका थिए ।चर्चित संगीतकार चेतन सापकोटाले पनि ‘आऊ युवा हो, आऊ साथी हो’ बोलको गीत गाएर माडीवासीलाई नचाएका थिए ।चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ‘गजुरियल संवाद’ प्रस्तुत गर्दा माडीवासी पेट मिचीमिची हाँसेका थिए ।उनले प्रचण्डका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई आफ्नो हाँस्य प्रस्तुतिबाट तीखो ब्यंग्य गरेका थिए ।बद्री पंगेनी, चेतन सापकोटा, मनोज गजुरेलसँगै प्रचण्डको चुनाव प्रचारमा केन्द्रीय कलाकारको टोली नै परिचालित भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया