काठमाडौं –

हेलिकोप्टरबाट मतपत्र ओसारिँदै उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका २८ मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइँदै । दुर्गम र विकट क्षेत्रका मतदानस्थलबाट मतपत्र हेलिकोप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याउने व्यवस्था निर्वाचन आयोगले गरेको छ । तस्बिर : हरिराम उप्रेती/नयाँ पत्रिका

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका २ हजार ४१० मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याइएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रका २ हजार ९१७ मध्ये पाँच सय सात मतदानस्थलका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याउने काम जारी छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बाँकी मतदानस्थलका मतपेटिका पैदलमार्गबाट सदरमुकाम ल्याइँदै छ । नयाँ पत्रिकाले छापेको छ ।

४० मतदानस्थलका मतपेटिका ल्याउन समस्या ताप्लेजुङको एउटा मतदानस्थल, डोल्पा, हुम्ला, संखुवासभालगायत केही जिल्लाका मतदानस्थलबाट मतपेटिका संकलनमा समस्या भएको छ । मौसमका कारण ४० मतदानस्थलमा हेलिकोप्टर बस्न नसक्दा मतपेटिका संकलन गर्न समस्या देखिएको हो । आयुक्त नरेन्द्र दाहालका अनुसार मौसमले साथ दिए मंगलबार साँझसम्म सबै क्षेत्रका मतपेटिका संकलन भइसक्नेछन् ।

तपाईको प्रतिक्रिया