सोनबर्सा (भारत), मंसिर १२ -‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो। उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके। फेरि बनाउन वर्षौं झुलाइसके। भारततिर नआएर के गर्ने ? यता फराकिलो पक्की सडक भएकाले पैदलयात्रा गर्न सहज छ।’ यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उनको कुरा सुनिरहेका सोनबर्साका भारतीय नागरिक रामविनय प्रसादले समर्थन जनाउँदै भने, ‘दस वर्षअघिसम्म पिच सडक हेर्न हामी नेपालतर्फ जान्थ्यौं। अहिले ठीक उल्टो भयो। नेपालका सडक भत्केर खत्तम भइसके। यता एकदम राम्रो र फराकिला पक्की सडक छन्। नेपाली दाजुभाइ मर्निङ वाक गर्न आएको देख्दा आफ्नो विगत याद आउँछ।’

७ लाख ७० हजार जनसंख्या, प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र रहेको सर्लाही जिल्लाभरि करिब ९ सय किलोमिटर सडक छ। त्यसमध्ये पूर्व–पश्चिम लोकमार्गमा पर्ने ३३ किमि र केही नगरपालिकामा जोडेर बढीमा २० किमि कालोपत्रे छ। बाँकी सबै धुलाम्यै।

सदरमुकाम मलंगवा सम्भवत: देशकै अभागी सहरमध्ये पर्छ, जसमा सडक त छ, तर पिचको नामनिसानै छैन। हुलाकी राजमार्ग नबन्दा र प्रमुख लोकमार्गसँग कालोपत्रे मार्गले नजोडिँदा पछाडि परेका मधेसका केही सदरमुकाममध्ये पर्छ यो। यातायातको कठिनाइले जिल्लाको यो केन्द्र गाउँजस्तो बनेको छ। चहलपहल कम छ, आर्थिक गतिविधि शून्य छ। जीवनस्तर पछाडि पर्दै गएको छ।

‘केही वर्षअघिसम्म बिहार भनेपछि हामी नाक खुम्च्याउँथ्यौं। त्यहाँ भएको विकास हेर्दा हाम्रो दुरवस्था प्रस्ट हुन्छ। सडक त बनेको छैन–छैन, हामी धूलोले ढाकिएर दिन गुजारिरहेका छौं,’ सधैं धूलो उड्ने नवलपुर–मलंगवा खण्डको बीचमा पर्ने गैरका रजनीकान्त झाले भने, ‘बिहारका चिल्ला सडक हुँदै गाडीमा जाँदा जहाज चढेजस्तो लाग्छ। हामीकहाँ कहिले त्यस्तो होला भनेर कल्पनुबाहेक उपाय छैन।’

नभएको होइन, थियो। २०५४ मा कालोपत्रे गरिएको नवलपुर–मलंगवा २६ किमि सडक १० वर्ष नभई पूरै उप्कियो। बेलामा मर्मत गरिएन। ग्राभेल पनि उप्कियो। पछि ग्राभेल त गरियो तर पक्की बनाइएन। ०६८ मा पिच गर्न ठेक्का लाग्यो। ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर फेरि अर्को बोलपत्र आहवान गरियो। छिटो काम होस् भनेर ०७३ मा दुई प्याकेज बनाई १३/१३ किमिमा अलग ठेक्का लगाइयो। ०७५ असोजमा निर्माणसम्पन्न भइसक्नुपर्ने सम्झौता भए पनि काम अझै खासै भएको छैन।

‘हामी पहिले–पहिले नेपाल घुम्न जाने योजना बनाउँथ्यौं। सडक राम्रो थियो। अहिले मासु र रक्सी खान नेपाल जाने मात्र छन्। कतै राम्रो बाटो छैन,’ भारत सोनबर्साका इन्द्रजित कुशवाहले भने, ‘यता विकास हुँदै गयो, उता बिग्रिँदै गयो।’ बिहारमा दुई वर्षमै जताततै ठूला सडक बनेको उदाहरण दिँदै उनले सोधे, ‘जिल्ला सदरमुकाम जोड्ने त्यति छोटो सडक किन पिच नगरिएको होला ?’

मलंगवा पुग्ने मात्र होइन, पूर्व–पश्चिम लोकमार्गलाई सीमाक्षेत्रसम्म जोड्ने नयाँरोड–मधुवनी सडक पनि ठेक्का लागेर अडकँदै आएको छ। मलंगवा–नवलपुरसँगै पहिलो ठेक्का लागेर काम नभएपछि फेरि दोस्रो पटक लगाइएको छ। काम भने शून्यसरह छ। दक्षिणी भेगका ग्रामीण बस्तीलाई जोड्ने हुलाकी सडक पनि अति जीर्ण छ। पूर्व–पश्चिम लोकमार्गको समानान्तर दक्षिणी भेगमा रहेको यो सडक अधिकांश ठाउँमा आकार मात्र छ।

‘सडकको दुरवस्थाले विकास मात्र नभई स्वास्थ्यमा पनि गम्भीर असर पारेको छ। सडक आसपास १० शैक्षिक संंस्था छन्। सबै बालबालिका धूलैधूलो खाँदै पैदल वा साइकलमा स्कुल जान्छन्,’ मलंगवा खण्डमै पर्ने जुटपानीका सुदर्शन रिजालले भने, ‘ती बालबालिका र ठूला मान्छेलाई समेत धूलोले धेरै असर गरेको छ। जाबो २६ किमि १० वर्षसम्म नबन्नु कहाँसम्मको हेपाइ हो ?’

सोनबर्साका राजेश साहलाई बिहारको आश्चर्यजनक विकासले जति खुसी तुल्याएको छ, नेपालतर्फ भएको संरचनासमेत बिग्रिएको देख्दा उत्तिकै दु:ख लागेको छ। ‘नेपालमा डाँडाकाँडा आकर्षक छन्। सडक नबनेकाले घुम्न जाने मन भए पनि सकिएको छैन,’ उनले भने, ‘पहिले सडक एकदम राम्रो थियो। हामीकहाँ पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ठान्थ्यौं। अहिले नेपालतिर त्यस्तै भइरहेको छ। छिमेकमा विकास भए हाम्रो पनि गर्वले छाती फुल्थ्यो।’

पूर्व–पश्चिम लोकमार्गबाट सीमाक्षेत्र जोड्ने नवलपुर–मलंगवा, नयाँरोड–बरहथवा, बाँके–संग्रामपुर, फूलजोर–त्रिभुवननगर र दक्षिणका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने हुलाकी सडक विकासका मेरुदण्ड हुन्। यी सबैका अवस्था अत्यन्त खराब छ। गाउँका अन्य सडक पनि विकास बजेटको चरम दुरुपयोगका कारण जीर्ण छन्।

तपाईको प्रतिक्रिया