काठमाडाैँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल बिमस्टेक आउटरिच सम्मेलनमा सहभागी हुन भारतको गोवा भ्रमणमा थिए । त्यस दिन अपरान्ह दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलगअलग औपचारिक भेटवार्ता गरेका थिए ।

राति ९ बजेतिर यी दुई महत्वूर्ण भेटवार्ताका बारेमा समाचार फाइल गरेर म आफ्नो डेरा रातोपुलतिर लागेँ । घर पुग्दा १० बजेको थियो । थकानले खाना खाएलगत्तै विस्तारामा पल्टेँ । दिउँसो गोवामा प्रधानमन्त्रीले गरेका भेटवार्ता अचानक फेरि झट्ट दिमागमा आयो । भेटवार्ताबारे थप केही अनौपचारिक कुरा भए कि वा अरू केही नयाँ कुरा पो भए कि भन्ने सोच्न थालेँ ।

गोवामा प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा सहभागी सरकारी अधिकारीसँग भेटवार्तामा भएका थप विषय जान्न एकचोटी भाइबरमा कुरा गर्न मन लाग्यो । भाइबरमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्न प्रयास गरेँ तर धेरैको फोन उठेन । अन्तिममा परराष्ट्रका एक उच्च अधिकारीसँग सम्पर्क भयो । उनले दिउँसो भएका भेटवार्ताका मुख्य विषय सरसर्ती सुनाए ।

कुराकानीको अन्तिममा उनले मलाई रोचक कुरा सुनाए । ‘सन्तोषजी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई सामूहिक भेटेको सुनेको छु, मलाई थाहा भएको यत्ति हो, बाँकी तपाईं खोज्नुस् ।’ उनले सो भेटवार्ताबारे भ्रमणटोलीमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि जानकार नरहेको र आफूले केही मिनेट अघिमात्रै भेटवार्ता सकिएको बताए । उनले दिएको ‘न्युज क्लु’ले मलाई उत्साहित बनायो ।

मैले प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग गरेको अनौपचारिक भेटवार्ताबारे विस्तृत जानकारी दिने उपयुक्त व्यक्ति सोच्न थालेँ । त्यो व्यक्ति प्रधानमन्त्रीका पुत्र प्रकाश दाहाल हुन सक्ने ठहर गरेँ । उनलाई भाइबरमा सम्पर्क गरेँ । संयोगवश प्रकाश भाइबरमा अनलाइन रहेछन् । मैले तत्काल उनलाई डायल गरेँ । प्रकाशले भाइबर रिसिभ गर्दै ‘सन्तोषजी नमस्कार ।

सुत्नुभएको छैन अझै ? ’ भनेर सोधे । बेलाबखत मैले प्रकाशलाई समाचारका लागि सम्पर्क गर्ने गरेको थिएँ । उनले मेरो नम्बर मोबाइलमा ‘सेभ’ गरेका रहेछन् । मैले उनलाई प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग होटेलमा एकै कोठामा भेटेको कुरा सत्य हो भनेर सोधेँ । प्रकाश निकै उत्साहित थिए ।

‘सन्तोषजी गजब भयो नि । यस्तो होला भनेर ड्याडीले कहिल्यै सोच्नु पनि भएको थिएन । भेटवार्ता भएको सत्य हो । मैले फोटो खिचेको छु । म तपाईंलाई पठाइदिन्छु’ उनी बोल्दै गए, म टिप्दै गएँ । मैले ‘कसरी यस्तो भेटवार्ता सम्भव भयो ? के यो भेटवार्ता योजनाबद्ध थियो ? ’ भनेर सोधेँ । उनले भेटवार्ता अचानक भएको बताए । दाहालले नेपालका प्रधानमन्त्री र मुलुकका लागि यो सुखद संयोगका रूपमा लिन आग्रह गरे । प्रकाशले प्रधानमन्त्रीले २० मिनेट मोदी र सीसँग होटेलको लविमा भेटेको बताए ।

प्रकाशका अनुसार सुखद संयोग के परेको थियो भने त्यस दिन भारतीय प्रधानमन्त्रीले बिमस्टेक आउटरिच समिटमा भाग लिन आएका विश्वका नेतालाई होटेलमा सामूहिक रात्रिभोज दिने कार्यक्रम थियो । दाहाल पनि आफू बसेको होटेलको कोठाबाट रात्रिभोजका लागि बाहिरिँदै थिए । दाहाल, सी र मोदी एकै होटेलका भिन्न कोठामा बसेका थिए ।

विश्वका नेताहरू रात्रिभोज दिने हलतिर एकपछि अर्को गरी प्रवेश गर्दै थिए । रात्रिभोजका लागि जाँदै गर्दा प्रधानमन्त्री दाहाल आधा घन्टा ‘होल्डिङ रुम’ मा कुर्नुपर्‍यो । दाहाल कुर्दै गर्दा त्यही होल्डिङ रूपमा पहिला चिनियाँ राष्ट्रपति र पछि भारतीय प्रधानमन्त्री आइपुगे । यसरी चीन, भारत र नेपालका कार्यकारी प्रमुख ‘होल्डिङ रुम’ मा भेटिए । केही समय कुर्नुपर्ने भएपछि दाहालले नै आफ्ना कुरा सुरु गरेका थिए।

प्रकाशका अनुसार दाहालले चीन र भारतसँग नेपालले विकासका लागि मिल्न चाहेको र त्यसका लागि त्रिदेशीय रणनीतिक सहकार्य आवश्यक रहेकोमा जोड दिए । सी र मोदीले दाहालका कुरालाई निकै गम्भीर रूपमा लिएको प्रकाशले सुनाए । कुराकानी पछि दाहालले सी र मोदीलाई भेटेका दुइटा फोटो तत्काल भाइबरमा पठाए । मैले प्रकाशलाई सूचना र फोटोका लागि धन्यवाद दिएँ । घडी हेरेँ, रातको ११ बजिसकेको थियो।

यो मेरा लागि पक्कै पनि ‘ब्रेकिङ स्टोरी’ थियो । नेपालका प्रधानमन्त्रीले चीन र भारतका शीर्ष नेतालाई एकैचोटी एकैथलोमा भेटेको पहिले कहिल्यै सुनेको थिइनँ । यस्तो ब्रेकिङ न्युज पाउँदा निद्रा लाग्ने कुरै भएन । एक मनले भन्यो समाचार डेस्क क्लोज भइसक्यो होला भोलि पो समाचार लेखौं कि अनि अर्को मनले भन्यो होइन एक पटक न्युज डेस्कमा सोधौं । अनि निधो गर्छु ।

प्रकाशले दिएको विस्तृत सूचनाका आधारमा मैले समाचार तयार पारेर राति १२ बजे इमेल गरेँ । प्रकाशले १२ बजेतिर मलाई पठाएकै एउटा तस्बिर फेसबुकमा पोस्ट गरेका रहेछन् । भोलिपल्ट १६ मंसिर २०७३ को अन्नपूर्ण पोस्टमा मेरो बाइलाइनमा ‘दाहालले भेटे सी मोदी’ शीर्षकमा ‘मेन न्युज’ छापियो । नजिकको पत्रिका पसलमा गएर त्यस दिनका अरू दैनिक अखबार सरसर्ती पल्टाएँ।

दाहालले सी र मोदीसँग गरेका औपचारिक भेटवार्ताका समाचार सबै अखबारमा छापिएका थिए । तर प्रधानमन्त्री दाहालले सी र मोदीलाई एकै थलोमा एकै पटक भेटेको समाचार अरू अखबारमा कतै थिएन । जुन मेरा लागि खुसीकै कुरा थियो । त्यो न्यूज अन्नपूर्ण पोस्ट्मा छापिएपछि बिहानैदेखि राम्रो चर्चाको विषय बन्यो । प्रकाशले गोवाबाट ९ बजे मलाई भाइबरमै कलब्याक गरे । ‘सन्तोषजी राम्रो समाचार आएछ, खुसी लाग्यो । अन्नपूर्ण पोस्ट् र तपाईंलाई धन्यवाद ।’ समाचार पढेर प्रधानसम्पादक र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाबाट बिहानै फोनमा स्याबासी पाएँ । म गद्गद् भएँ अनि त्यो समाचार दिने प्रकाश दाहाललाई धन्यवाद दिइरहेँ।

प्रकाशलाई मैले अरू बेला पनि बेलाबखत सम्पर्क गरिरहेकै हुन्थेँ । उनी सूचना दिने कुरामा कहिल्यै कञ्जुस्याइँ गरेनन् । आफूलाई थाहा भएका कुरा ‘कोट नगर्नू’ भन्दै सेयर गर्थे उनले । कयौं पटक मेरा विदेशी पत्रकार साथीहरूलाई प्रचण्डसँग भेट गराउँदा प्रकाशले नै भेटर्वार्ता तय गरिदिएका थिए । कहिलेकाहीँ मैले हेलो भन्नकै लागि भए पनि उनलाई फेसबुक र मोबाइलमा सम्पर्क गर्ने गरेको थिएँ ।

एक महिनाअघि उनलाई सम्पर्क गर्दा नम्बर अफ थियो । अनि उनलाई फेसबुकमा अनलाइन देखेर तपाईंको नम्बर अफ छ नि नम्बर चेन्ज भएको हो कि भनेर सोधेँ । उनले ‘होइन पुरानै नम्बर हो अहिले काठमाडौं बाहिर छु’ भन्ने जवाफ तत्कालै दिए । तर अब प्रकाशको त्यो नम्बर कहिल्यै उठ्नेछैन । आइतबार बिहानै प्रकाशलाई हृदयाघात भएको समाचार सुनेर निकै मर्माहत भएँ । सुरुमा उनको निधनको कुरा पत्यार लागेन । तर समाचार साँचो रहेछ । अब प्रकाश हामीसामु रहेनन् । अलबिदा प्रकाश ! अन्नपूर्ण पोस्ट बाट

तपाईको प्रतिक्रिया