काठमाडौँ : लोकतन्त्रवादी बुद्धिजीवी तथा पेशागत व्यवसायीहरुले आसन्न निर्वाचनमा लोकतन्त्रप्रति प्रतिबद्ध र विकास तथा आर्थिक समृद्धिप्रति समर्पित पार्टी नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । राजधानीमा भएको लोकतन्त्रवादी बुद्धिजीवी तथा पेशागत व्यवसायीको भेलाले मुलुकमा लोकतन्त्रको संस्थागत विकासका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने निष्कर्ष निकालेका हुन् । भेलापछि जारी गरिएको अपिलमा काँग्रेसकै प्रयास र नेतृत्वमा २००७ सालमा राणा शासनको अन्त्य, २०३६ सालको जनमत संग्रहमा लोकतन्त्रका पक्षमा जनमत सिर्जना गर्ने काम, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को संयुक्त जनआन्दोलन सफल भएको उल्लेख छ । नेपालमा गणतन्त्र स्थापना पनि काँग्रेसकै प्रतिबद्धता र नेतृत्वमा सम्भव भएको उल्लेख गर्दै अपिलमा पछिल्लो समयमा नेपाली राजनीतिमा भएको ध्रुवीकरणबाट संविधानले प्रत्याभूत गरेका आम नागरिकका आभारभूत मौलिक अधिकारमाथि नै चुनौती आउन सक्ने चिन्ता प्रकट गरिएको छ ।

अपिलमा भनिएको छ, “संविधानमा आमूल परिवर्तन गरेर व्यवस्था नै बदल्ने र ५० वर्षसम्म एकछत्र शासन गर्नेजस्ता चाहनाले नेपालीको अथक प्रयासबाट बनेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र नागरिकको लोकतन्त्रको चाहनामाथि खेलबाड हुने खतरा बढेको छ ।”

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा सुरेशराज शर्मा, पूर्व प्रशासकहरु डा विमल कोइराला, विश्वप्रकाश पण्डित, टीकादत्त निरौला, त्रिविविका उपकुलपति डा तीर्थ खनिया, पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्व राजदूत डा दुर्गेशमान सिंह र शम्भुराम सिंखडा, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, कलाकार भूमिका श्रेष्ठ, प्रा मधुरा कार्की, प्रा डा पुष्कर बज्राचार्य, व्यवसायी दिव्यमणि राजभण्डारी, नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ, पत्रकार हरि अधिकारी, प्रा डा खगेन्द्र भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो । सो भेलामा झण्डै १५० जति अग्रणी र ख्यातिप्राप्त व्यवसायी तथा बुद्धिजीवी सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया