संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ ।

आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि चिसो मौसमका कारण हिमाली क्षेत्रमा केही ढिलो गरी मात्र मतदान कार्य प्रारम्भ भएको थियो । थोरै मात्र मतदाता रहेका केन्द्रमा पनि कर्मचारीले आयोगले तोकेको साँझ ५ बजेसम्म मतदाता कुरेर बसेका थिए ।

सिन्धुपाल्चोक, रुकुम, भोजपुर, दार्चुला र बाजुराका केही मतदान केन्द्रमा झडप भए पनि मतदान कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको आयोगले जनाएको छ । मतदानस्थलमा वृद्धवद्धा, सुत्केरी र युवाको लामो पंक्ति उपस्थित देखिन्थ्यो ।

यसअघि तीन चरणमा सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशत मत खसेको थियो । २०७० को दोस्रो संविधानसभामा ७० प्रतिशत, ०६४ को संविधानसभा निर्वाचनमा ६१ दशमलव सात प्रतिशत, ०५६ सालको निर्वाचनमा ६५ दशमलव आठ र ०५१ को निर्वाचनमा ६१ दशमलव आठ र ०४८ सालको निर्वाचनमा ६५ दशमलव १४ प्रतिशत मत खसेको थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया