काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । बाम गठबन्धनबाट टिकट नपाएपछि लोकतान्त्रिक गठबन्धनबाट गोर्खा क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार बनेका डा भट्टराईले पालुङ्गटार– १ खोप्लाङ्गको अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । भट्टराईसँग वाम गठबन्धनको तर्फबाट माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मैदानमा छन् त्यसैले पनि गोरखा क्षेत्र नम्बर २ चर्चामा छ । पहिलो चरण अन्तर्गत आज ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदाताहरु निस्किसकेका छन् । मतदाता परिचयपत्र लिएर बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने छ । कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका वा हराएको भए अरु परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

३२ जिल्लामा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ढुक्क भएर मतदान गर्न सबै मतदातलाई निर्वाचन आयोगले आग्रह गरेको छ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदाताले लाइन बस्न नपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताका लागि २ हजार ९ सय १९ मतदानस्थलामा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।

तपाईको प्रतिक्रिया