काठमाडौं – भारतीय आन्तरिक बजारमा प्याज अभाव भइरहेका वेला निर्यात निरुत्साहित गर्न सरकारले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको छ । निर्यात हुने प्याजको मूल्य प्रतिटन ८ सय ५० अमेरिकी डलर (करिब ८५ हजार रुपैयाँ) निर्धारण गरिएको भारतको उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार तथा लगानी नियामक निकाय वैदेशिक व्यापार महानिर्देशनलायले जानकारी दिएको छ । हाल अस्थायी रूपमा लागू गरिएको यो व्यवस्था डिसेम्बर महिनासम्म मात्र लागू हने महानिर्देशनालयले स्पष्ट पारेको छ । हालसम्म भारतले प्याजमा अनिवार्य निर्यात मूल्य तोकेको थिएन ।

‘डिसेम्बर ३१ सन् २०१७ सम्म सबैखाले प्याज निर्यात गर्दा प्रतिटन ८ सय ५० अमेरिकी डलर न्यूनतम निर्यात मूल्य कायम गरी सरकारको स्वीकृति लिएर मात्र निर्यात गर्नुपर्नेछ’ महानिर्देशनालबाट बिहीबार जारी गरिएको एक सूचनामा बताइएको छ । यसअघि खाद्य तथा उपभोक्ता मन्त्रालयले प्याजको मूल्य ७ सय डलर प्रतिटन तोक्न वाणिज्य मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, अहिले बजारमा प्याजको व्यापक अभाव देखिएको भन्दै समाधानका लागि सरकारले निर्यात निरुत्साहित गर्न मन्त्रालयले सिफारिस गरेको भन्दा पनि १ सय ५० डलर थप गरी न्यूनतम मूल्य तोकेको होे ।

सन् २०१५ को डिसेम्बर महिनामा खाद्य मन्त्रालयले प्याजको न्यूनतम निर्यात मूल्य तोक्न वाणिज्य मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, अहिले भारतीय बजारमा प्याजको अभाव भएकाले माग पूरा गर्न नसक्दा आन्तरिक बजारमा प्याजको मूल्यमा तीव्र वृद्धि भएको छ । यस वर्ष भारतमा प्याजको उत्पादनका लागि मौसम अनुकूल नबन्दा करिब ३० प्रतिशत उत्पादन कम हुने आँकलन गरिएको छ । एसियाकै सबैभन्दा ठूलो प्याजको थोक बिक्री बजार महाराष्ट्रस्थित लसलगाउँका एक थोक विक्रेताका अनुसार दैनिक १ लाख ५० हजार बोरा (४० देखि ५० किलोसम्मका) सम्म प्याज आउने बजारमा अहिले ३० हजारदेखि ४० हजार बोरा मात्र प्याज आइरहेको छ । यसले बजारको माग धान्न निकै मुस्किल परेको उनले उल्लेख गरेका छन् ।

पाकिस्तानले भारततर्फ प्याज निकासी गर्न छोडेपछि भारतीय बजारमा प्याजको अभाव भएको हो । यसका साथै अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएकाले भारतमा पनि यसको असर परेको बताइएको छ । सरकारले बजारमा प्याज अभाव हुन नदिन २ हजार टन आयात गर्न टेन्डर आह्वान गरेको छ । तर, यो परिमाण निकै न्यून भएकाले देशको माग धान्न नसक्ने भारतीय व्यापारीले प्रतिक्रिया दिएका छन् ।

सरकारले प्याज निर्यात गर्न निरुत्साहित गरे पनि अझै केही दिन भारतीय उपभोक्ताले अभावको समस्या झेल्नुपर्ने प्याज निर्यातकहरूले बताएका छन् । तर, निर्यात मूल्य वृद्धि गर्नु निरुत्साहित गर्नु मात्र समस्याको समाधान नभएको समेत उनीहरूले बताएका छन् । हाल प्याजको थोक मूल्य प्रतिकेजी १० रुपयाँदेखि ४० रुपैयाँसम्म रहेको छ । नयाँ पत्रिकाले छापेको छ ।

नेपाललाई कस्तो असर ? नेपाल प्याज उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । नेपालले भारतलगायत अन्य राष्ट्रबाट प्याज आयात गर्दै आएको छ । आर्थिक वर्ष २०७२-७३ मा करिब ३ अर्ब रुपैयाँबराबरको प्याज आयात गरेको नेपालले आर्थिक वर्ष २०७३-७४ मा करिब ३ अर्ब २० करोड रुपैयाँबराबरको प्याज आयात गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ । नेपालले गत आर्थिक वर्षमा करिब १० करोड किलोग्राम प्याज आयात गरेको थियो । नेपालमा आयात हुने प्याजको ठूलो परिणाम भारतबाट आयात हुने गरेकाले नेपालमा पनि प्याजको मूल्य वृद्धि हुने अनुमान गरिएको छ । पाकिस्तानले भारततर्फ प्याज निर्यात नगर्दा त्यसको असर नेपालसम्म आइपुग्ने बताइएको छ । फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भारतले निर्यात मूल्य वृद्धि गर्ने बित्तिकै नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्ने बताएका छन् । ‘नेपालमा प्याजको उत्पादन पाँच प्रतिशत पनि छैन, भारतीय उपभोक्तालाई ध्यानमा राखी सरकारले निर्यात मूल्य बढाएको हुन सक्छ । हामीले पनि यसको अध्ययन गरिरहेका छौँ । थप अध्ययन गरेपछि मात्र विस्तृत रूपमा भन्न सकिन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया