भक्तपुर २ प्रदेश सभा (क) सदस्यका सबैजसो उम्मेदवारले प्रदेश ३ को मुख्यालय भक्तपुरलाई बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश ३ मा रहेका १३ वटा जिल्लाको केन्द्र भक्तपुरमा पर्ने भएकाले यस्तो माग गरिएको दाबी गरिएका छ । ‘सबैको यो साझा कार्यसूची हो’ उम्मेदवारहरूको समान प्रतिबद्धता थियो । उम्मेदवारहरूले मतदातासामु मत माग्ने क्रममा पनि आफू निर्वाचित भएपछि प्रदेश मुख्यालय अर्थात् राजधानी भक्तपुरमा बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै आएका छन । प्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौंँ १३ वटा जिल्ला रहेका छन् । पूर्वमा सिन्धुली र पश्चिममा नुवाकोटका साथै चितवनदेखि रसुवासम्मको केन्द्र पनि भक्तपुर नै पर्ने भएकाले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्कसमेत प्रमुख पार्टीका प्रदेश सभाका उम्मेदवारहरूको छ । आजको गोरखापत्रमा खबर छ ।

नेपाली काँग्रेस भक्तपुर २ निर्वाचन क्षेत्र प्रदेश सभा (क) का उम्मेदवार अङ्गद खड्काले भक्तपुरमा प्रशस्तै सार्वजनिक जमिन र खुल्ला क्षेत्र भएकाले भक्तपुरमा प्रदेशको राजधानी बनाउनु उपयुक्त हुने बताए । उनले भक्तपुरलाई धार्मिक पर्यटकीय स्थल र सांस्कृतिक सहरका रूपमा विकास गर्नका लागि पनि आफूले प्रदेश सभा सदस्यको उम्मेदवारी दिएको स्पष्ट पारे । भक्तपुरको उर्वर जमिनमा प्राङ्गारिक खेतीको योजना र भक्तपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागि प्रदेशसभामा आफूले भूमिका खेल्ने खड्काको योजना छ ।

वाम गठबन्धन (नेकपा एमाले) भक्तपुर २ का प्रदेश सभा (क) का उम्मेदवार शशीजङ्ग थापाले आफू प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि प्रदेशको राजधानी भक्तपुरमा राख्ने आफ्नो निर्वाचनको प्रमुख एजेन्डा नै भएको बताए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको ९९ रोपनी जमिन वा जगातीस्थित हाल भक्तपुर इँटा टायल कारखाना भएको करिब दुई सय रोपनी जमिन वा सानो थिमीस्थित शिक्षा विभागमा रहेको क्षेत्रमध्ये कुनै एक स्थानमा प्रदेश राजधानी बनाउन उपयुक्त स्थान भएको दाबी थापाको छ ।

उनले भक्तपुर बाहिरी चक्रपथ, सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यन र मेलम्ची खानेपानीको आयोजनालाई पहिलो चरणमा नै भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माण गर्न सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुरको बालकुमारीदेखि भक्तपुरको लाकुरी भञ्ज्याङ्सम्म चार लेनको सडक निर्माण गर्ने र दायाँ बायाँ सोलार बत्ति जडान गरी उज्यालो सडक निर्माण गर्ने योजना आफ्नो रहेको थापाले बताए ।

नेपाल मजदुर किसान पार्टी भक्तपुर निर्वाचन २ प्रदेश सभा (क) का उम्मेदवार सरोजराज गोसाँइले भक्तपुर खुल्ला र शान्त स्थान भएकाले भक्तपुरमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्नका लागि आफू निर्वाचित भएपछि पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया