चितवन – हिलो र बालुवाले पुरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन कार्य तीव्ररुपमा अगाडि बढाइएको छ ।साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जभित्रको घाँसे मैदान हिलो र बालुवाले पुरिएको थयो । हिलो र बालुवाले पुरिएको घाँसे मैदानको व्यवस्थापनसँगै बाढीले बिगारेको वन पथको मर्मत सम्भार र अग्निरेखा निर्माण कार्य पनि भइरहेको छ ।बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका घाँसे मैदानमा बालुवा र हिलो भरिएको थियो भने घाँसे मैदानमाथि फोहर पनि थुप्रिएको थियो । निकुञ्जभित्रका चुरेबाट बग्ने खोलाले पनि घाँसे मैदान बिगारेका थिए । वन पथमा रहेका काठका पुल र बाटो बाढीले बगाएको थियो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीलगत्तै थालिएको घाँसे मैदानको व्यवस्थापन कार्यलाई अहिले तीव्र गतिमा अगाडि बढाइएको छ । उहाँका अनुसार निकुञ्जका २२ ठाउँमा दैनिक ७०० भन्दा बढी मजदुरले घाँसे मैदान व्यवस्थापन गरिरहेका छन् ।

निकुञ्जको सुखीभार, भिम्ले, अमलटारी टापू, लामीताल, घडगाई, जर्नेली, डुमरिया, गैँडा ताल, ध्रुवा दक्षित, हिले घाट, अमरटारी घाट, बाघमारा फाँट, भोसारघाट, बूढी राप्ती, चम्का फाँट, चिसापानी, देउराली, घोल टापू, तमोर ताल र ढोटरी ताल फाँटमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ ।हिलो र बालुवाले पुरेको ठाउँ सफा गर्ने, ढड्डी फाड्ने, नयाँ ठाउँ खोजी गरी घाँसे मैदान विस्तार गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो । हिलो र बालुवाका कारण व्यवस्थापन गर्न कठिन भएका क्षेत्रको आसपासमा नयाँ ठाउँको खोजी गरी घाँसे मैदान व्यवस्थापन गर्ने काम गरिएको छ ।निकुञ्जभित्रका ठाउँठाउँमा पुग्नका लागि १२ वटा वन पथ रहेका छन् । ८१ किमी लामो वन पथमा भत्किएका पुल र बाटो मर्मत गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।निकुञ्जभित्रकै तीन ठाउँमा अग्निरेखा निर्माणको काम पनि भइरहेको छ । घडगाईमा दुई किमी, सुरुङ खोलामा पाँच किमी र कछुवानी पूर्वमा १० किमी लामो अग्निरेखा बनाउने काम भइरहेको छ ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जको ल क्षेत्रफलको १२ प्रतिशत जमिन घाँसे मैदान छ । निकुञ्जमा १० हजार हेक्टर जमिन घाँसे मैदान हो । जसमध्ये हरेक वर्ष एक सय हेक्टर घाँसे मैदानलाई व्यवस्थापन गरिँदै आएको छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो नदी राप्तीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्सामा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या उत्पन्न भएको थियो ।निकुञ्जमा गैँडा, लघुना, मृग, जरायो, नीलगाईलगायत घाँसमा आश्रित जनावर धेरै रहेका छन् । निकुञ्जमै बाघको संख्या बढ्दै गएकाले आहारा प्रजातिका जनावरको संख्या पनि बढाउनु पर्ने चुनौती निकुञ्जसँग रहेको छ । जसका लागि व्यवस्थित घाँसे मैदान निर्माण गरी खुवाउनु पर्ने हुन्छ । पानीको स्रोतको आसपासमा मात्रै घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ व्यवस्थित ठाउँको खोजीमा निकुञ्ज लागेको छ ।

तपाईको प्रतिक्रिया