तनहुँ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्याएका छन् ।व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्याएका हुन् । बस्यालको गए राति मृत्यु भएको हो ।विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको भए पनि २०७० सालदेखि विधिवत्रुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।अविवाहित बस्याल उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिए । उनका आफन्तहरु कोही पनि नभएको बताइएको छ । हाल उक्त ज्येष्ठ नागरिक आश्रममा चार महिला र तीन पुरुष गरी सातजना बस्दै आएका छन् ।

समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्नका लागि महिलाले नै शव बोक्ने गरेको आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले बताइन् ।ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उहाँले जानकारी दिइन् ।मन्त्र जप्ने ओँठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ भन्ने मूलमन्त्रका साथ महिलाले सहजरुपमा शव बोकेर घाटसम्म पु¥याएको आश्रमकी सचिव निर्मला मल्लले बता इन् । पितृसत्तात्मक सोचलाई अन्त्य गर्नका लागि महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि महिलाले शव बोक्ने साहस गरेका हुन् सचिव मल्लले भनिन् ।

समाजमा रहेको कुरीतिको अन्त्यका लागि महिलाले देखाएको साहसपूर्ण कार्य एउटा उदाहरणीय रहेको घाटमा पुगेका दमौलीका व्यवसायी रामकुमार श्रेष्ठले बताए। छोरा नभए पनि छोरीले पनि कर्तव्य पालना गर्न सक्छन् भन्ने सन्देशमूलक कार्य तनहुँका महिलाले गरेका छन्, श्रेष्ठले भने।आश्रम सञ्चालक महिलाले २०७२ साल मंसिर १२ देखि १८ गतेसम्म ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि महायज्ञको आयोजना गरी रु एक करोड ४० लाख संकलन गरेकामा रु एक करोड १५ लाख खर्चेर घरसहितको करिब दुई रोपनी जग्गा आश्रमको नाउँमा किनिसकेका छन् ।शुरुमा १५ जना महिलाद्वारा सञ्चालित उक्त आश्रममा हाल ३२० महिला आबद्ध रहेको आश्रमकी कोषाध्यक्ष करुण श्रेष्ठले बताए । शुरुमा घर भाडा लिएर आश्रम सञ्चालन गर्दा कठिनाइ भोग्नुपरेको थियो श्रेष्ठले भने तर अहिले आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ ।ज्येष्ठ नागरिक बस्यालको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया