नेपालगञ्ज, ८ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन २ साता मात्र बाँकि रहँदा उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभ्याई छ । मतदाता समक्ष पुगेर आफूलाई मतदान गर्न आग्रह गर्दै दिनहुँ उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आज (शुक्रबार) पनि विहानैदेखि घरदैलो गरिरहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादले विहान कम्दी, पुरैना र नेपालगञ्जको त्रिभुवन चोकको भित्रि भागमा पुगेर मत माग्नुभएको छ । प्रदेशसभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति र २ ख का उम्मेदवार सुरेन्द्र हमालले आ–आफ्नो क्षेत्रमा आजादसंगै घरदैलो गर्नुभएको राप्रपा नेता ऋषिराज देवकोटाले बताउनुभयो । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री आज (शुक्रबार) पनि नरैनापुर गाउँपालिकामै घरदैलोमा ब्यस्त हुनुहुन्छ ।

केहीदिन यता त्यसै क्षेत्रमा रहनुभएका खत्रीसंगै प्रदेश सभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि नरैनापुरमै रहेको प्रचारप्रसार सचिवालय सदस्य लुट बहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (शुक्रबार) कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेनाको थारु गाउँमा घरदैलो गरिरहेको सचिवालय संयोजक भूम भण्डारीले बताउनुभयो । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज (शुक्रबार) साविकको बेलहरी गाविसमा घरदैलो गरिरहनुभएको सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले विहानैदेखि घरदैलो गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया