ताइपेई : उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ । यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ । नौतले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ । ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो । यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाइएको छ । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया