बङ्गलादेश : बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले बिहीबार जनाएको छ । विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेका समय म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने प्रयास स्वरुप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।

म्यानमारमा पछिल्ला केही महिना यता भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानपछि म्यानमारको रोहिङ्ग्या समुदायको बसोबास रहेको राखिने राज्यबाट करिब छ लाख २० हजार जनता भागेर बङ्गलादेश पुगेका थिए । म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई राखिनेबाट हटाउने प्रयास भनी आलोचना गरेको छ । सहमति अनुसार आगामी तीन हप्ताभित्र कार्यदल बनाई काम शुरु गरिने छ ।

सहमतिपछि छोटो प्रतिक्रिया दिँदै विदेशमन्त्री अलीले भन्नुभयो, “शरणार्थीलाई फर्काउन गरिएको यो शुरुवाती कदम हो । म्यानमारले रोहिङ्ग्यालाई फिर्ता लाने छन् । अव हामीले काम शुरु गर्नुपर्छ ।” कति रोहिङ्ग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् ।

तपाईको प्रतिक्रिया