काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । आजै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वास फेर्न असहज महसुस गरेपछि गत सोमबारदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाँलाई पेटरोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुवोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहनुभएको छ । चिकित्सकले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । नेता निधि गत कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषामै हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया