सप्तरी। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताएका छन्।राजविराजमा आज रासससँग कुराकानी गर्दै उनले भने – “ यसको सफलतापछि पार्टी एकताको प्रक्रियालाई पनि अगाडि बढाइने छ ।” अध्यक्ष यादबले संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेशीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबी गरे।

मधेसको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै उनले मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे।अध्यक्ष यादबले काँग्रेस, एमाले र माओवादी केन्द्रले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाउँदै राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको धारणा व्यक्त गरे। निर्वाचनमा आफ्नो पार्टीको बहुमत आएमा सबै खालका विभेद अन्त्य गर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनका लागि राज्यको लगानी बढाउनेमा जोड दिइने बताए। उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने पनि उनले बताए।

तपाईको प्रतिक्रिया