नेपालगन्ज ०५ मंसिर । नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जित्नु भएका छन । मंगलबार नेपालगन्जमा सम्पन्न प्रतियोगितामा २ घण्टा २६ मिनेट ५८ सेकेण्डको समय निकाल्दै बुढाले उपाधि जितेका हुन । बुढाले नेपाली सेनाका खडक बहादुर खडका र सशस्त्रका गणेश सिंह ठकुरीलाई पछि पार्दै नेपालगन्ज म्याराथनको उपाधि जित्न सफल भए । सेनाका खडकाले २ घण्टा २७ मिनेट २० सेकेण्डको समय लगाएर दोस्रो तथा सशस्त्र प्रहरीका ठकुरीले २ घण्टा २८ मिनेट ३५ सेकेण्डको समय लगाएर तेस्रो भए । प्रथम बोहराले नगद ५५ हजार, दोश्रो खडकाले २५ हजार र तेश्रो ठुकरीले १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलाको हाफ म्याराथन तर्फ नेपाली सेनाकी रेशु बस्नेत १ घण्टा २४ मिनेट ४५ सेकेण्ड समय निकाल्दै प्रथम, सेनाकै चन्द्रा रावत १ घण्टा २८ मिनेट ०६ सेकेण्ड समय निकाल्दै दोस्रो र सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिन्तकला तेस्रो हुनुभयो । प्र्रथम बस्नेतले ३० हजार, दोश्रो रावतले १५ हजार र तेश्रो सिन्ताकलाले १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । ५ किलोमिटर दौड पुरुषतर्फ जुम्लाका नरेश बुढा १६ मिनेट ५५ सेकेण्ड समय निकाल्दै प्रथम, जुम्ला कै विवेक कठायत १७ मिनेट १५ सेकेण्ड समय निकाल्दै दोस्रो तथा बाँकेका अरबिन्द्र क्षेत्री १८ मिनेटको समय निकाल्दै तेस्रो भए भने महिला ५ किलोमिटरतर्फ जुम्लाकी राममाया बुढा १९ मिनेट १२ सेकेण्ड समय निकाल्दै प्रथम, जुम्ला कै अमृता भण्डारी २० मिनेट ३३ सेकेण्ड समय निकाल्दै दोस्रो तथा सल्यानकी चन्द्रा कुमारी घर्ति २१ मिनेट ३० सेकेण्ड समय निकाल्दै तेस्रो भइन ।

सोहि प्रतियोगिता अन्तरगत अपांगता भएकाहरुका बीच भएको व्हीलचेयर ३ सय मीटर दौडतर्फ कमल बुढा १ घण्टा ५२ मिनेट २२ सेकेन्डको समय निकाल्दै प्रथम, नन्कु थारु २ घण्टा ११ मिनेट ३८ सेकेन्डका साथ दोस्रो तथा दिपक दराई २ घण्टा ११ मिनेट ४८ सेकेन्डका साथ तेस्रो भए । प्रतियोगिता अघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले संयुक्त रुपमा झण्डा देखाउदै म्याराथनको शुभारम्भ गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले नेपालगन्जमा आगामी बर्ष २०७५ मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको भन्दै राष्ट्रिय खेलकुद नेपालगन्जका लागि सम्मान भएको र यसबाट यस क्षेत्रले खेलकुदमा भौतिक पुर्वाधारमा ठुलो लाभ पाउने बताए ।

तपाईको प्रतिक्रिया