नेपालगन्ज, मंसिर ३ -नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले बाँकेमा लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भइसकेको बताएकी छन् । नेपालगन्जका विभिन्न वडामा आईतबार आयोजित लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना, चुनावी सभा तथा घरैदेलो कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले वाम गठबन्धनका उम्मेदवारहरु हारको मानसिकता बोकेर मतदातालाई प्रलोभन पार्ने काम गरिरहेको बताईन् । देशमा संकट पर्दा सधै नेपाली काँग्रेसलाई नेपाली जनताले साथ दिदै आएको स्मरण गराउँदै उनले अहिले पनि देशलाई संकट पर्दा जनताले साथ दिने विश्वास गरिन् । देशमा साम्यवाद र कम्यूनिष्ट शासन व्यवस्था ल्याउने एमाले र माओबादीको वाम गठबन्धनले घोषणा गरिसकेकाले लोकतन्त्रको रक्षाका निम्ती सबै नेपाली एक भएर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले अपिल गरिन् । लोकतान्त्रिक गठबन्धनलाई जिताउन बाँकेमा सम्पूर्ण नेपाली काँग्रेसका नेता, कार्यकर्ता परिचालन भइसकेको सभापति कोईरालाको भनाई छ ।

यस्तै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका निम्ती लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सबै राष्ट्रवादी जनतालाई आग्रह गरे । देशमा कम्यूनिष्टहरुले साम्यवाद ल्याउने उद्घोष गरिसकेकाले यसका विरुद्ध सबै नेपालीले प्रतिवाद गर्नुपर्ने राणाको भनाई छ ।

सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल लगायतले बोलेका थिए ।

लोकतान्त्रिक गठबन्धनले आईतबार नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनिया, वडा नम्बर ४ को बसपार्क र गणेशपुर क्षेत्र, वडा नम्बर १८ को कारकाँदो तथा वडा नम्बर ९ को बाँकेगाउँ लगायत क्षेत्रमा सम्पर्क कार्यालय उद्घाटन, घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको गठबन्धनका प्रचार संयोजक सुनिलसिंह हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया