काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना छोरा प्रकाशको निधनपछि आज बिहान काठमाडौंँ फर्कनुभएको छ । उहाँ बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सातौँं तलामा रहेको हेलिकप्टरबाट काठमाडौं फर्कनुभएको हो । अस्पतालले शनिबारदेखि आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनका लागि उहाँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै शनिबार यहाँ आउनुभएको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसँग बस्नुभएका दाहाल छोराको निधनको खबरपछि काठमाडौंँबाट हेलिकप्टर मगाएर छोरीज्वाइँसहित काठमाडौँं फर्कनुभएको हो ।

उहाँ काठमाडौँ फर्कनुअघि एमालेका अध्यक्ष ओलीले बिएण्डबी अस्पताल परिसरमा नै पुगेर प्रकाशको निधनप्रति दुःख व्यक्त गर्नुभयो । नेता दाहाल अस्पतालको सातौँ तलामा झिकाइएको हेलिकप्टर चढ्नुअघि ओलीले प्रकाशको निधनको खबरले आफू मर्माहत र स्तव्ध बनेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो । दाहालको आज मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

तपाईको प्रतिक्रिया