काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा सगरमाथा आरोहणीसमेत रहनुभएका दाहालको आज बिहान हृदयाघातका कारण भएको निधनमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । अध्यक्ष प्रचण्डलाई राजनीतिलगायत विषयमा आवश्यक सल्लाह सुझाव दिने उक्त पार्टीका नेता प्रकाशको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ । यसअघि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले पनि ट्विटरमार्फत उहाँको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । यसैगरी राप्रपा(प्रजातान्त्रिक)ले दाहालको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै दाहालको निधनले आफ्नो पार्टी स्तब्ध रहेको जनाउनुभएको छ । यस्तै एकीकृत राप्रपा(राष्ट्रवादी)ले पनि शोकसंतप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले उहाँको निधनले असल राजनीतिकर्मीको अभाव खट्कने बताउनुभयो ।

तपाईको प्रतिक्रिया