काठमाडौं – फिल्म हिट भएपछि त्यसको सिक्वेल बनाउनु, घोषणा गर्नु स्वाभाविक नै हो । ब्लकबस्टर, हिट फिल्मको सिक्वेल बनाउँदा दर्शकले साथ दिएकै पाइन्छ । तर, लगानीसम्म पनि ‘कभर’ नगरेका फिल्मका निर्माता, निर्देशकले समेत ‘सिक्वेल बनाउँछु’ भन्नुचाहिँ ‘लास्टै कमेडी’ लाग्ने गरेको छ । पछिल्लो समय सिक्वेल टु बनाउने क्रम बढ्दै गएको छ । ‘मेला’ फिल्मका निर्माता हरि पन्तले ‘मेला–२’ बनाउने घोषणै गरेका छन् । यद्यपि, वितरक तथा हल व्यवसायीका अनुसार कात्तिक २४ मा रिलिज भएको मेलाले शनिबार राजधानीका केही हलमा हाउसफुलको व्यापार गरेको हो । त्यसपछि भने दर्शक अभाव समाना गर्नुपर्‍यो । त्यति मात्रै होइन, मेलाले मल्टिप्लेक्स हलमा निकै न्यून सो पाएको थियो । त्यसमा कुनै दिन पनि भरिभराउ हुन पाएन । वसन्त निरौला निर्देशित मेलाका निर्माता हरिले मेला–२ चाहिँ आफैँ निर्देशन गर्ने मनसुवा गरेका छन् । मेलामा झन्डै ८५ लाख रुपैयाँ लगानी लागेको बताइने गरिएको छ । फिल्मले लगानी उठाउन नसके पनि निर्माताको सिक्वेल घोषणाप्रति भने फिल्मकर्मीहरू चकित परेका छन् । मेलाका निर्माताले भन्दा चर्काे कुरा गरे, ‘फाटेको जुत्ता’का निर्माता अर्जनुकुमारले । सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्कीलगायका चर्चित कलाकार अभिनीत फाटेको जुत्ताले व्यापार त राम्रै गर्‍यो । तर, दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया भने पाउन सकेन । अधिकांशले फाटेको जुत्तालाई कमजोर भनेर कमेन्ट गरेकाले निर्माता अर्जुन आवेगमा आए । उनले फाटेको जुत्ता प्रदर्शनको एक साताभित्रै हतार–हतारमा प्रेसमिट गरेर ‘फाटेको जुत्ता–२’ निर्माण गर्ने घोषणा गरे । अर्जुनकुमारले आफ्नो फिल्म सुपरहिट भएको दाबी गर्दै फाटेको जुत्ता–२ मा पनि सौगात मल्ल नै मुख्य भूमिकामा रहने उद्घोष गरे । सौगातले पनि मुस्कुराउँदै होमा हो मिलाए । प्रचार–प्रसारका लागि सिक्वेल घोषणा गरे पनि अर्जुनकुमारले फाटेको जुत्ताको सिक्वेल बनाउने सम्भावनालाई भने फिल्म तथा सञ्चारकर्मीले न्यून नै मानेका छन् । किनभने, अर्जुन आफैँ पनि फाटेको जुत्ताप्रति सन्तुष्ट छैनन् । त्यसैले त उनले भन्ने गरेका छन्– मेरो फिल्म भयंकर छैन । थुप्रै कमिकमजोरीका बाबजुत पनि हलमा दर्शक आए । मलाई पुगिहाल्यो नि । खासमा सिक्वेलदेखि अर्जुनकुमार चेतिसकेका छन् । ‘द युगदेखि युगसम्म’मा नराम्रोसँग घाटा व्यहोरेका उनको ‘चपली हाइट’ सुपरहिट भएको थियो । पहिलो फिल्मको चर्चालाई बिउँताएर नाफा कमाउने तीव्र इच्छाका साथ उनले ‘चपली हाइट–२’ निर्माण गरे । तर, त्यो फिल्मले उनलाई नोक्सान ग¥यो । यद्यपि, कहिलेकाहीँ अर्जुनकुमारले ‘चपली हाइट–३’ बनाउँछुसमेत भन्ने गरेका छन् ।

व्यावसायिक सफलता नपाएका तथा दर्शकको गाली खाएका सिक्वेल थुप्रै छन् । तीमध्ये धेरैजसो त नामका मात्र सिक्वेल छन् । जस्तो, तुलसी घिमिरे निर्देशित ‘दर्पण छाया’ धेरै हिट भएको थियो । दर्पण छाया निर्माण भएको झन्डै डेढ दशकपछि उनले गत वर्ष ‘दर्पण छाया–२’ निर्माण गरे । न कथा, न कलाकार, नाम मात्रैको सिक्वेल दर्पण छाया–२ चलेन । हुन त निर्देशक घिमिरेले दर्पण छाया हिट भएलगत्तै ‘लहना’ नामक फिल्म निर्माण गरेका थिए । दर्पण छायामा प्रेमप्राप्ति मात्रै होइन, बलिदान पनि हो भन्ने सन्देश दिएका थिए भने लहनामा प्रेमप्राप्ति नै हो, जसरी पनि प्राप्त गर्नुपर्छ भन्ने थिम थियो । एउटै निर्देशकले दुई–तीन वर्षको अन्तरमा प्रेमलाई विपरीत ढ्रंगले परिभाषित गरेकाले पनि हुन सक्छ, लहना दर्शकले मन पराएनन् । निर्माता सुनील रावलले सुरुमा ‘त्यसैले त रोजेँ तिमीलाई’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । तर, पछि उनले सुरज सुब्बाको लेखन र निर्देशनमा ‘सायद’ फिल्म निर्माण गरे । सायद हिट भयो । सायद बनाएको झन्डै चार वर्षपछि उनले नाम मात्रै सिक्वेल गरेर ‘सायद–२’ निर्माण गरे । असार ३० मा प्रदर्शन भएको सायद–२ असफल भयो । यद्यपि, उनले ‘होस्टेल’पछि सिक्वेल भन्दै निर्माण गरेको ‘होस्टेल रिटन्र्स’ भने चलेको थियो ।

राजकुमार राईले ‘पापी मान्छे’ हिट भयो भन्दै उनै निर्देशक दीपक श्रेष्ठलाई लिएर ‘पापी मान्छे–२’ निर्माण गरेका थिए । तर, पापी मान्छे–२ ले नाफा कमाएन । छवि ओझाको लगानीमा ‘हिम्मत’ निर्देशन गरेका उनै निर्देशक श्रेष्ठले आफ्नै लगानीमा ‘हिम्मत–२’ निर्माण गरे । तर, फिल्मले राम्रैसँग घाटा लगायो । त्यसपछि उनले एडल्ट फिल्म ‘रङ वे’ निर्माण गरे । रङ वेका कारण दर्शक, फिल्मकर्मी तथा सञ्चारकर्मीबाट समेत आलोचना खेपेपछि उनले अर्काे फिल्म निर्माण गर्ने हिम्मत गरेका छैनन् । निश्चल बस्नेतको ‘लुट’ सुपरहिट भएको थियो । लुट निर्माणको झन्डै चार वर्षपछि ‘लुट–२’ निर्माण गरियो । तर, दर्शक तथा समीक्षकको नजरमा लुट–२ अब्बल साबित हुन सकेन । नाफा कमाए पनि लुट–२ अघिल्लोको दाँजोमा निकै कमजोर साबित भयो । दर्शकले लुटको सिक्वेलबाट जुन आशा राखेका थिए, त्यसमा तुषारापात हुन पुग्यो ।

सिक्वेलमा सफल भएका निर्देशक हुन्, रामबाबु गुरुङ । उनले ‘कबड्डी’पछि निर्माण गरेको ‘कबड्डी कबड्डी’ पनि हिट भयो । अहिले उनले ‘मिस्टर झोले’ निर्देशन गरेका छन् । मिस्टर झोलेलाई दीपेन्द्र के खनाल निर्देशित झोलेको सिक्वेलसमेत भन्ने गरिएको छ । गोपीकृष्ण मुभिजले रजत जयन्ती मनाएको ब्लकबस्टर ‘कुसुमे रुमाल’को सिक्वेल भन्दै फेरि ‘कुसुमे रुमाल’ निर्माण ग¥यो । निरक पौडेल निर्देशित नयाँ कुसुमे रुमालले दर्शक रिझाउन सकेन ।एउटा फिल्म नचल्दै हौसिएर सिक्वेल घोषणा गर्ने निर्माता, निर्देशक पनि बग्रेल्ती छन् उद्योगमा । ‘द विनर’ फिल्मका निर्माताले फिल्म रिलिजको अघिल्लो दिन प्रेसमिट गरी ‘द विनर–२’ निर्माण गर्ने घोषणा गरेका थिए । तर, द विनरले नै जित्न सकेन । त्यसकारण सिक्वेलको कुरा त्यत्तिकै विलीन भयो ।

अर्का निर्माता गणेश बेलबासेले ‘उहिले बाजेको पालामा’ रिलिजकै ताका एकाएक ‘उहिले बाजेको पालामा–२’ को घोषणा गरे । तर, बेलबासे त्यसपछि फिल्मवृत्तमा देखापरेका छैनन् । त्यसैगरी, पुरानो पुस्ताका निर्माताले पनि फिल्म रिलिजको सम्मुखमा ‘पुरानो पुस्ता–४’ सम्म बनाउने ध्वाँस दिए । पुरानो पुस्ता हलमा लागेको र उत्रिएको थाहै भएन । त्यसपछि ती निर्माता, निर्देशक पनि गुमनाम भएका छन् ।सिक्वेल बनाएर नाफा कमाएका निर्माता, निर्देशकमा पर्छन्– विकास आचार्य र दीपाश्री निरौला । आचार्यले ‘नाइँ नभन्नु ल’लाई ‘नाइँ नभन्नु ल–४’ सम्म पु¥याए । अब उनी ‘नाइँ नभन्नु ल–५’ बनाउने ध्याउन्नमा लागेका छन् । ‘छक्का पन्जा’पछि ‘छक्का पन्जा–२’ निर्माण गरेका दीपकराज गिरी र दीपाश्री निरौलाले सफलताको स्वाद मज्जाले चाखिरहेका छन् । तर, छक्का पन्जा–२ छक्का पन्जाभन्दा कमजोर साबित भयो । अर्थात्, निर्माण, कथावाचन तथा प्रस्तुतिको हिसाबले छक्का पन्जा–२ छक्का पन्जाजत्तिको नभएको दीपक, दीपा स्वयंले स्विकारिसकेका छन् । उनीहरूले अब ‘छक्का पन्जा–३’ बनाउने घोषणा गरेका छन् । छक्का पन्जा नै नेपाली फिल्मको अहिलेसम्मको इतिहासमा सर्वाधिक व्यापार गर्न सफल सिक्वेल हुन् ।

त्यसो त सिक्वेल फिल्म बनाउन निकै सक्रिय देखिन्छन्, राजु गिरी । उनले ‘बिन्दास’पछि ‘बिन्दास–२’, ‘बिन्दास–३’ हँुदै अहिले आएर ‘बिन्दास लाइफ’ बनाएका छन् । आफ्नो फिल्मका बेग्लै दर्शक भएकाले आफू निरन्तर फिल्म बनाउन सफल भएको दाबी गिरीले गर्ने गरेका छन् । निर्देशक शोभित बस्नेत एकताका ‘अग्निपथ–२’ बनाउने चक्करमा लागेका थिए । तर, पछि उनले सो फिल्म निर्माण नगर्ने निर्णयमा पुगे । अग्निपथ–२ मा निखिल उप्रेतीलगायतका पुराना स्टारलाई लिने सोच शोभितको थियो । तर, एकाएक निखिलको मार्केट डाउन भएकाले शोभित पछि हटेका हुन् । ‘के सिक्वेल बनाउनू ?’ शोभित भन्छन्, ‘पुराना स्टारलाई राख्दा मल्टिप्लेक्समा फिल्म लाग्दैन । सिंगल थिएटरमा पनि दर्शक आउने टुंगो छैन । त्यसैले सिक्वेलको चक्कर स्थगित गरेको छु ।’

‘प्रेमगीत’ हिट भएपछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत–२’ निर्माण गरे । प्रेमगीत सुदर्शन थापाले निर्देशन गरेका थिए भने प्रेमगीत–२ रामशरण पाठकले । दुवै फिल्म हिट भए । सन्तोष अब ‘प्रेमगीत–३’ निर्माण गर्ने योजनामा छन् ।निर्देशक सुदर्शनको ‘म यस्तो गीत गाउँछु’ हिट भयो । उनले अब ‘म यस्तो गीत गाउँछु–२’ निर्माण गर्ने घोषणा गरिसकेका छन् । तर, सुटिङ कहिलेदेखि सुरु हुन्छ, त्यो भने पक्का छैन । अभिनेत्री हुँदै ‘ए मेरो हजुर–२’ बाट निर्देशन यात्रा थालेकी झरना थापाले सफलताको स्वाद पाइन् । अब उनी ‘ए मेरो हजुर–३’ निर्माण गर्ने गृहकार्यमा जुटेकी छिन् । नयाँ पत्रिकाले छापेको छ ।

अर्की अभिनेत्री, निर्मात्री रेखा थापा पनि सिक्वेलतिर आकर्षित भएकी छिन् । उनले आफ्नो पहिलाको हिट फिल्म ‘कसले चोर्‍यो मेरो मन’को सिक्वेल ‘कसले चोर्‍यो मेरो मन फेरि’को घोषणा गरिसकेकी छिन् । ‘रुद्रप्रिया’बाट पर्याप्त मुनाफा नकमाएपछि तनावमा रहेकी रेखाले अबको फिल्म भने सबिर श्रेष्ठलाई निर्देशन गराउँदै छिन् ।

तपाईको प्रतिक्रिया