नेपालगन्ज । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाबीच बुधबार बिहान छलफल भएको छ । सुरक्षा गोष्ठी उद्घाटन गर्न तथा लोकतान्त्रिक गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन मंगलबार बाँके आउनु भएका प्रधानमन्त्री देउवाले राणासंगको भेटघाटमा बाँकेका तीन वटै प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन सक्रिय हुनुपर्ने बताउनु भयो । अचानक नेकपा एमाले र माओबादी केन्द्रबीच वाम गठबन्धन बनेको र चुनावपछि पार्टी एकता गरेर मुलुकमा एक दलीय कम्यूनिष्ट साम्यवादी शासन ल्याउने अभिव्यक्ति दिएकाले मुलुक अत्यन्तै संकटको घडीमा रहेको उहाँले बताएउनुभयो । सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको निम्ति यो चुनावमा मात्र नभएर आगामी दिनमा पनि सहकार्य हुने भएकाले लोकतान्त्रिक गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउन काँग्रेस र राप्रपाका कार्यकर्ता एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

जवाफमा राप्रपा महामन्त्री राणाले बाँकेका सबै क्षेत्रमा काँग्रेस र राप्रपाबीच संयुक्त प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम भइरहेको बताउनुभयो । करिब आधा घण्टा जति भएको भेटमा लोकतान्त्रिक गठबन्धनलाई जुनसुकै हालतमा जिताउनुपर्ने विषयमा काँग्रेस सभापति देउवा र राणा बीच गहन छलफल भएको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई पनि सामुहिक र छुट्टा–छुट्टै भेट गरेर आसन्न चुनावमा डटेर लाग्न निर्देशन दिनुभयो । काँग्रेस बाँकेका सभापति किरण कोइरालाका अनुसार देउवाले टिकट वितरणको असन्तुष्टिलाई बिर्सेर लोकतन्त्र बचाउने अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । सो क्रममा सभापति देउवाले टिकट वितरणमा केही कमजोरी भएको हुन सक्ने स्वीकार गर्दै यस विषयमा बुझ्ने बताउनुभयो । ‘जसलाई अन्याय भएको छ, उहाँहरुलाई पार्टीले आगामी दिनमा मुल्यांकन गर्नेछ, तपार्इंहरु निराश नहुनुस्, मैले बाँके आएर वास्तविक कुरा थाहा पाएँ,’ उहाँले भन्नुभयो ।लोकतन्त्र नै नरहेपछि भविष्यमा नेपाली जनताका हक अधिकार गुम्ने खतरा रहेकाले यस विषयमा गाउँदेखि सहरका टोल–टोलमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताउनुभयो । नेपालगन्जमा बास बस्नु भएका प्रधानमन्त्री देउवा बुधबार बिहान चुनावी अभियानमा सहभागी हुन कैलालीतर्फ प्रस्थान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया