काठमाडौं – नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले मंसिर ६ गते क्रिटिक्स अवार्ड वितरण गर्ने भएको छ । ०७० सालबाट क्रिटिक्स अवार्ड प्रदान गर्दै आएको फिक्सनले यसपालि एकसाथ ०७१, ०७२ र ०७३ का विजेतालाई अवार्ड प्रदान गर्ने तयारी गरेको छ । फिक्सनले मंगलबार जारी गरेको विज्ञप्तिमा कालो पोथीलाई ०७३ को उत्कृष्ट फिल्मको अवार्ड दिइने उल्लेख छ ।त्यस्तै, उत्कृष्ट निर्देशक दीपक रौनियार (सेतो सूर्य), उत्कृष्ट पटकथा लेखक मीनबहादुर भाम र अविनाशविक्रम शाह (कालो पोथी), उत्कृष्ट छायांकार अजिज जाम्बाकिभ (कालो पोथी) घोषित भएका छन् ।

उत्कृष्ट सम्पादकको अवार्ड ‘सेतो सूर्य’बाट डेभिड बार्करको भागमा परेको छ भने ‘जात्रा’बाट विपीन कार्की र ‘पुरानो डुंगा’बाट माओत्से गुरुङले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको अवार्ड पाउनेछन् । उत्कृष्ट अभिनेत्रीको अवार्डचाहिँ ‘लभ सासा’बाट केकी अधिकारीलाई दिइने भएको छ ।सबै अवार्डको निर्णय फिक्सनका सदस्यको मतदानबाट गरिएको बताइएको छ । निर्णयअनुसार ०७२ सालको उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’ बन्न सफल भएको छ । सोही फिल्मबाट उत्कृष्ट निर्देशक दीपेन्द्र के खनाल र उत्कृष्ट पटकथा लेखक खगेन्द्र लामिछाने ठहरिएका छन् । नयाँ पत्रिकाले छापेको छ ।

‘कबड्डी कबड्डी’ फिल्मबाट शैलेन्द्र डी कार्की उत्कृष्ट छायांकार र रिश्मा गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भएका छन् भने उत्कृष्ट अभिनेताको अवार्ड ‘फन्को’बाट सौगात मल्ललाई दिइने निर्णय भएको छ । क्लासिकबाट सुरेन्द्र पौडेल उत्कृष्ट सम्पादक बनेका छन् । फिक्सनले ०७१ सालका विजेताको नाम यसअघि नै घोषणा गरिसकेको छ । जसअनुसार उत्कृष्ट फिल्म ‘कबड्डी’, उत्कृष्ट निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), उत्कृष्ट पटकथा लेखक रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), उत्कृष्ट अभिनेता दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेत्री प्रियंका कार्की (सुन्तली), उत्कृष्ट छायांकार ओन्ड्रा बेलिका (सुन्तली), उत्कृष्ट सम्पादक बनिष शाह र मिलन श्रेष्ठ (ताण्डव) छन् । उत्कृष्ट पाश्र्वको अवार्ड टलकजंग भर्सेस टुल्केका लागि जेसन कुँवरले पाउनेछन् ।

तपाईको प्रतिक्रिया