काठमाडौं – वैदेशिक रोजगारीका लागि दलालमार्फत अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिला रेनुका दर्जीलाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल फर्काएको छ । झापा विर्तामोड गोला घर भएकी २४ वर्षीय दर्जी दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि भिजिट भिषामा युएई आइपुगेकी थिइन् । उनलाई निरु विष्ट नाम गरेकी महिलाले फकाएर काठमाडौं पुर्याएकी थिइन् भने काठमाडौँमा डम्बर राई भन्ने व्यक्तिले पासपोर्ट बनाई वीरगन्ज हुँदै भारतीय बाटोबाट युएई ल्याएका थिए ।

राम्रो कमाइ हुने दलालको प्रलोभनमा परेर आफू युएई आइपुगेको उनले बताइन् । युएईको भिजिट भिषामा आएकी उनलाई फेरि कुवेत पु¥याइएको थियो । कुबेत एअरपोर्टमा मालिक लिन नआएपछि उनी ६ दिनसम्म बेवारिसे बसेकी थिइन् । ६ दिनपछि एकजना भारतीय नागरिक आएर लगेको र त्यसपछि लगातार शारीरिक यातना दिएको उनले बताइन् । विभिन्न यातना सहेकी उनलाई दलालको कुरा नमानेपछि पुनः युएई फर्काइएको थियो । युएईको दुबई विमानस्थलमा अलपत्र भेटिएकी उनलाई त्यहीँ कार्यरत नेपाली रचना तामाङले भेटेपछि उद्धारको पहल भएको थियो । तामाङले सुचना दिएपछि एनआरएन युएईका महिला संयोजक मोती राई, उपाध्यक्षद्वय कल्पना राई र नेत्र शर्माले सोमबार दुबई विमानस्थल पुगेर उनको उद्धार गरेका थिए । नयाँ पत्रिकाले छापेको छ ।

नेपाल फर्काउन टिकटलगायतका आर्थिक सहयोग एनआरएन युएईले गरेको अध्यक्ष रमेश श्रेष्ठले बताए । कुवेतमा अन्य नेपाली महिला पनि अलपत्र अवस्थामा यातना पाएर बसिरहेको पीडित दर्जीले बताइन् । अवैधानिक रूपमा भारतको बाटो भएर वा नक्कली कागजात बनाएर दलालमार्फत युएई आउने क्रम बढ्दो छ भने कुवेत पुर्याउने क्रम पनि बढिरहेको छ । सरकारले युएईका लागि भिजिट भिषा र घरेलु कामदारको रूपमा युएई आउन रोकेपछि दलालहरूले यस्तै बाटो प्रयोग गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया